तपाईँ सुन्दै हुनुहुन्छः

एएसडीपी र प्रभु बैङ्कबिच सम्झौता

सुर्खेत । मूल्य शृङ्खलामा आबद्ध किसानलाई वित्तीय सेवा पुर्‍याउन कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) र प्रभु बैङ्क लिमिटेडबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य शृङ्खलामा आबद्ध किसानहरूको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैङ्कबिच शुक्रवार काठमाडौँमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोदकुमार भट्टराई र प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभएको छ ।

कृषि उत्पादक, कृषि व्यवसायी, साना किसानको माग अनुसारको वित्तीय सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले एएसडीपी र प्रभु बैङ्कबिच सम्झौता गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौता अनुरूप लक्षित वर्गहरूलाई कर्जा सेवा सँगसँगै वित्तीय साक्षरता समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोदकुमार भट्टराईले कर्णाली प्रदेशमा कृषि क्षेत्रको विकासका लागि लगानीको अभाव हुन नदिनु बैङ्कसँग सम्झौता गर्नुको अर्को उद्देश्य रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button