तपाईँ सुन्दै हुनुहुन्छः

चीन र रुसको भिटोले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध प्रस्ताव असफल

संयुक्त राष्ट्रसङ्घ। प्रजातान्त्रिक जनगणतन्त्र कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रुसले भिटो लगाएर असफल पारेका हुन् ।

चीनको मतको व्याख्या गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले उत्तर कोरियामा सुरक्षा परिषद्का प्रस्तावहरूलाई व्यापक, पूर्ण र सही रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै सम्वन्धित देशहरूले नाकाबन्दीको कार्यान्वयनमा मात्रै एकतर्फी जोड दिन नहुने चीनको अभिमत व्यक्त गर्नुभयो ।

समस्याको राजनीतिक समाधान खोजिनुपर्ने, हालको अवस्थामा, प्योङयाङविरुद्ध थप प्रतिबन्धहरूले समस्या समाधानमा मद्दत नगर्ने बरु थप नकारात्मक प्रभाव र टकरावलाई मात्र निम्त्याउने राजदूत झाङले बताउनुभयो । कोभिड–१९ को पृष्ठभूमिमा थप प्रतिबन्धहरूले ठूलो मानवीय प्रभाव पार्ने उहाँले उल्लेख गर्नुभयो ।

चीनले परिषद्को एकता र सहयोगलाई ठूलो महत्त्व दिन्छ, वर्तमान परिस्थितिमा परिषद्ले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वमा बाधा पु¥याउने विषयमाथि विमर्श हुनुपर्ने तथा उत्तर कोरियाका जनताले सामना गरिरहेका जीविकोपार्जनका समस्याका बारेमा चिन्तित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रायद्वीपको अवस्था जटिल मोडमा रहेको उल्लेख गर्दै राजदूत झाङले चीनले फेरि पनि सबै पक्षलाई शान्त र संयमित हुन आह्वान गरेको र अमेरिकी पक्षलाई उत्तर कोरियाप्रतिको आफ्नो नीतिमा लाई गम्भीर भएर चिन्तन गर्न आह्वान गर्नुभयो । साथै उहाँले वार्ता पुनः सुरु गर्नका लागि वातावरण बनाउन आग्रह गर्नुभयो । चीनले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम गर्न र आणविक निःशस्त्रीकरणलाई साकार पार्न रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको मस्यौदा प्रस्ताव पारित गर्न परिषद्का स्थायी सदस्य रुस, चीन, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तीमा नौ मत आवश्यक पर्छ र पाँचवटै स्थायी सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने प्रावधान छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button