तपाईँ सुन्दै हुनुहुन्छः

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ : उपसभापति खड्का

चितवन। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले शुक्रवार यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आफ्नो स्वार्थमा लागेर सेवा सुविधातर्फ मात्रै केन्द्रित बनेको गुनासो रहेको छ । यस्ता गुनासा नआउने गरी काम गर्नुस् ।” स्थानीय जनप्रतिनिधिका आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उहाँले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले कांग्रेसको घोषणापत्र र विचार बोकेर काम गर्नुपर्ने बताउनुभयो ।

देशमा दीगो शान्ति कायम गर्नका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै उहाँले यसका लागि स्थानीय सरकारको कामको मूल्याङ्कनबाट मात्रै सम्भव हुने बताउनुभयो । पदमा पुगेर काम नगर्ने परिपाटीले समस्या आउने गरेको उहाँको भनाइ थियो । कांग्रेसबाट टिकट पाएर पराजित भएका प्रत्यासीहरुले छायाँ सरकारको रुपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन हारेपछि सुत्नका लागि कांग्रेसले टिकट दिएको होइन । अझै सक्रियता बढाउनुपर्छ, जसले गर्दा विकासमा आफ्नो पनि भूमिका देखियोस् ।” पाँच वर्षसम्म स्थानीय तहको निगरानी र खबरदारी आवश्यक रहेको उहाँको भनाइ थियो ।

फरक प्रसंगमा बोल्दै उपसभापति खड्काले अहिलेको गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन हुने बताउनुभयो । उहाँले थप्नुभयो, “यही गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन गरेर दुई तिहाई बहुमत ल्याउनुपर्छ ।” गठबन्धनबाट निर्वाचन गरेर कांग्रेसलाई पहिलो शक्ति बनाउने उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा देखिएको कमजोरी सबैले स्वीकार गर्दै आगामी कार्यक्रम बनाउनुपर्ने उहाँले बताउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचित जनप्रतिनिधि र पार्टीका बीचमा समन्वय गर्नुपर्ने हुन्छ ।” यसले पार्टीलाई चलायमान बनाउने उहाँले बताउनुभयो । गठबन्धनको निर्णयलाई असर गर्ने अभिव्यक्ति नदिन कांग्रेस नेता कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो । केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जनप्रतिनिधिहरु आफू खुसी चल्ने परिपार्टीले पार्टीलाई क्षति पुग्ने बताउनुभयो । कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला उपसभापति राजिव न्यौपाने, महासमिति सदस्य गीता देवकोटा, जनप्रतिनिधिहरु भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटालगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button