तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमती हत्याका दोषी रञ्जन कोइराला पक्राउ

काठमाडौँ ।श्रीमती हत्यामा दोषी ठहर भई जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइराला शुक्रवार काठमाडौँको बानेश्वरबाट पक्राउ परेका छन् । 

कानूनी परामर्श गरिहेको अवस्थामा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिन बिदा रहेकाले फैसला कार्यान्वयनका लागि सोमबार उनलाई अदालतमा पेस गरिनेछ । बिहीबार मात्रै सर्वाेच्च अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो । 

यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे आठ वर्ष जेल सजाय बसेमा मक्सद पूरा हुने फैसला गरेपछि विसं २०७७ मा कोइराला जेलबाट छुटेका थिए । 

उक्त आदेश उल्ट्याउँदै कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टङ्क मोक्तान र डा कुमार चुडालको इजलासले बिहीबार जन्मकैद (२० वर्ष कैद) को फैसला सुनाएको थियो ।

फैसला गरेको भोलिपल्टै शुक्रवार साँझ ६ः३० बजे उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । कोइरालाले विसं २०६८ मा पत्नी गीता ढकालको हत्या गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button