तपाईँ सुन्दै हुनुहुन्छः

मिडिया साक्षरतामा ध्यान दिन अध्यक्ष बस्नेतको सुझाव

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमलाई मर्यादित बनाउन मिडिया साक्षरता (लिटिरेसी) मा सबैले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।

‘पत्रकारितामा नयाँ पुस्ताको आगमन बढिरहेको छ, अनलाइनमा झन् बढी छ, यो पुस्ताका लागि आचारसंहिता लगायतका विषयमा साक्षरता कार्यक्रम बढाउनुपर्ने देखिन्छ’– काउन्सिलद्वारा शुक्रवार आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षामा उहाँले भन्नुभयो ।

मिडिया साक्षरताको लागि सरकारले पर्याप्त स्रोत/साधन उपलब्ध गराउनुपर्ने बस्नेतको सुझाव छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विषयका सह–प्राध्यापक डा.कुन्दन अर्यालले काउन्सिलको पछिल्लो कदमको स्वागत गर्नुभयो । उहाँले सञ्चारकर्मी आफैँ सक्षम नभई पत्रकारिता स्वच्छ नहुने धारणा राख्नुभयो ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकामा उल्लेख प्रावधानबारे जानकारी दिनुभयो ।

वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनाल र काउन्सिलका कर्मचारीको सहभागिता रहेको उक्त कक्षमा भौतिक रूपमा ३२ जना र जुम मार्फत १२ जनाले प्रशिक्षण लिनुभएको थियो ।

सहभागीमध्ये आवश्यक प्रक्रिया पुगेका अनलाइन सञ्चार माध्यमलाई प्रमाणपत्र तथा काउन्सिलले जारी गरेको आचारसंहिता लगायतका पुस्तक प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button