तपाईँ सुन्दै हुनुहुन्छः

‘मानव अधिकार उल्लङ्घनप्रति शून्य सहनशीलताको नीति’

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकारले दण्डहीनताको अन्त्य र मानव अधिकार उल्लङ्घनप्रति शून्य सहनशीलताको नीति लिएको बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको २२ औँ वार्षिक उत्सवको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री खाणले मानवअधिकार सम्बन्धी पेरिस सिद्धान्त अनुरूप मानवअधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

file photo

उहाँले द्वन्दकालिन घटनाका पीडितको न्याय प्राप्तिमा सरकार प्रतिबद्ध रहेको भन्नुहुँदै सङ्क्रमणकालीन संयन्त्र मार्फत चाँडै पीडितलाई न्यायको अनुभूति हुने गरी निष्कर्षमा पुर्‍याइने बताउनुभयो ।

गृहमन्त्री खाणले नागरिक तथा राजनीतिक अधिकारको संरक्षण र सम्मानका लागि सुरक्षा निकाय तथा कानुन कार्यान्वयन गर्ने सरकारका सबै प्रकारका अङ्गहरू प्रतिबद्ध रहेका कारण मानवअधिकार उल्लङ्घनका घटनाहरू न्यून हुँदै गएको बताउनुभयो ।

उहाँले मानवअधिकार आयोगले गरेका सिफारिसहरूको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्नुहुँदै यस कार्यका लागि सरकारले कार्यदल समेत बनाइसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकार रक्षकहरूको सुरक्षा ऐन निर्माण र सञ्जालीकरणका लागि यसै वर्ष सातै प्रदेशमा मानवअधिकार रक्षकहरूको प्रादेशिक सम्मेलन सम्पन्न भएको समेत जानकारी दिनुभयो ।

उहाँले मानवअधिकारको संरक्षण, संवर्द्धन तथा यसको प्रभावकारी कार्यान्वयनको प्रभावकारी सुनिश्चितता गर्न आयोग क्रियाशील रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button