तपाईँ सुन्दै हुनुहुन्छः

नगर प्रमुख सिंह सहितको टोलीद्वारा वीरगन्जको सरसफाइको अनुगमन

बीरगंज । बीरगंज महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजेशमान सिंहले आज नगर क्षेत्रको सरसफाइलाई प्राथमिकतामा राखेर छड्के अनुगमन गर्नुभएको छ ।

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, महानगरपालिका सरसफाइ महाशाखाका प्रमुख सर्फुदिन मिया, सहितका सञ्चारकर्मी र जनप्रतिनिधिको टोलीले आज महानगरपालिकाको आदर्शनगर, माईस्थान, घण्टाघर, मिना बजार, रेल्वे रोड देखि शङ्कराचार्य गेट सम्मको मेन रोड, बाइपास र इनर बाइपास सडकको सरसफाइको सम्बन्धमा स्थलगत अनुगमन गरेको थियो ।

त्यस क्रममा चौतर्फी फोहोर भेटिएको र सरसफाइको अवस्था नाजुक रहेको देखेपछि सरसफाइका जिम्मा लिएका ठेकेदार तथा महानगरपालिकाका कर्मचारीलाई महानगरप्रमुख सिंहले फोहोर हटाएर सफा बीरगंज बनाउने सम्बन्धमा कुनै सम्झौता नहुने बताउँदै २४ घण्टाभित्र वीरगन्ज सफा र सुन्दर नभए कारबाही गर्ने चेतावनी दिनुभयो ।

अनुगमनको क्रममा वीरगन्जको रजत जयन्ती चोक अगाडी अवैध रुपमा सवारी कर असुली गरिरहेको भेटिएपछि प्रमुख सिंहले रसिद नियन्त्रणमा लिई अवैध कर असुली गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न महानगरपालिकाका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

वीरगन्जको सरसफाइ र समृद्धिका लागि कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता सहित मैदानमा उत्रिनुभएका नगर प्रमुख सिंहले शपथ ग्रहण गरेकै साँझदेखि वीरगन्जको घण्टाघर अगाडीको सडक मर्मत कार्य सुरु गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button