तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान बस दुर्घटना अपडेट : घाइते सात मध्ये चार जना रिफर 

सल्यान । शुक्रवार बिहान भएको बस दुर्घटनामा परी घाइते भएका सात जना मध्ये चारलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार १ जनालाई दाङ र तीन जनालाई नेपालगन्ज रिफर गरिएको हो । 

सल्यान बागचौर नगरपालिका ८ कोटमौलाका ४८ वर्षीय अजमद कामीलाई दाङ रिफर गरिएको छ भने वडा न ८ गैरागाउँकी ६३ वर्षीया चम्फा ढकाल, कोटमौलाका ७५ वर्षीय लिलानाथ योगी र छत्रेश्वरी गाउँपालिका २ दहखोलाकी २२ वर्षीया अञ्जना गिरी खड्कालाई नेपालगन्ज रिफर गरिएको जिल्ला जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । 

अन्य घाइते बागचौर नगरपालिका ९ की ३६ वर्षीया मनीषा भण्डारी र रोल्पा गंगादेव गाउँपालिका ३ डाँडापोखरीकी ५८ वर्षीया दिल कुमारी खड्काको बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ । 

सल्यान बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको ना ३ ख ३८४४ नम्बरको बस बागचौर नगरपालिका २ शारदा खोला नजिकै दुर्घटना भएको थियो । घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

शुक्रवार बिहान नै सोही ठाउँमा टिप्पर दुर्घटना भएको थियो । टिप्पर दुर्घटना भएपछि ओरालो बाटोमा बस रोकी बसका चालक साइड पुग्ने नपुग्ने हेर्न जाँदा दुर्घटना भएको अनुमान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button