तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय निर्वाचनमा दुई तिहाइ स्थान ल्याउने गरी काम गर्न उपसभापति खड्काको आग्रह 

चितवन । नेपाली काङ्ग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले आगामी प्रदेश र सङ्घको निर्वाचनमा दुई तिहाइ स्थान ल्याउने गरी काम गर्न चितवनका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । स्थानीय निर्वाचनको परिणामले जनताले काङ्ग्रेसलाई फेरि एक चोटि हेर्न चाहेको भन्दै  सोही अनुसार बढ्न आग्रह गर्नुभएको हो । 

नेपाली कांग्रेस चितवनले स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान कार्यक्रमलाई आज भरतपुरमा सम्बोधन गर्दै उप सभापति खड्काले पार्टीको आन्तरिक कुरा जथाभाबी सार्वजनिक नगर्न नेता कार्यकर्तालाई  निर्देशन दिनुभयो । उप सभापति खड्काले हाम्रा कमजोरीहरूलाई हाँसी हाँसी स्वीकार गर्ने बेला आएको समेत बताउनु भयो ।  ‘स्थानीय तहको परिणामले जनताले काङ्ग्रेस नै चाहेको छ, खड्काले भन्नुभयो, विगतका अफ्ठयाराहरुमा जस्तै अहिले पनि जनतालाई काङ्ग्रेस नै चाहिएको छ । ’

काङ्ग्रेसमा सुधारको जरुरत नभएको तर जनता सँग गर्ने व्यवहारमा सुधार ल्याउनु पर्ने समय आएको उहाँको भनाई थियो । उहाँले संविधान र जनताको हक अधिकारको रक्षा गर्न काङ्ग्रेसको ठुलो भूमिका रहेको भन्दै सिंहदरबार देखि वडा तह सम्मको अधिकार प्रतिनिधित्व गर्न नेपाली जनताले काङ्ग्रेस नै चाहेको बताउनुभयो । 

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु शङ्कर भण्डारी, टेकप्रसाद गुरुङ, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ लगायतले बोल्नु भएको थियो । 

निर्वाचित जनप्रतिनिधिलाई जनताका गुनासा टिपोट गरेर समाधान गर्न कलम र कापी उपहार दिइएको थियो । काँग्रेसबाट चितवनमा निर्वाचित भएका जनप्रतिनिधिहरूमा २ जना प्रमुख, ३ जना उपप्रमुख, ४० जना वडाध्यक्ष, ३५ जना महिला सदस्य, ३६ जना दलित महिला सदस्य, ८४ जना खुल्ला सदस्य गरी २ सय ३ जना निर्वाचित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button