तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमा नगरपालिकामा काँग्रेसका खाण विजयी

रुपन्देही । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत रुपन्देहीका सबै पालिकाको मतगणना सम्पन्न भएको छ । 

जिल्लाका १६ पालिकामध्ये पछिल्लो पटक आज सार्वजनिक भएको मतगणना परिणामअनुसार तिलोत्तमा नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका रामकृष्ण खाण विजयी हुनुभएको छ । उहाँले २४ हजार ३९६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मोहन चापागाईँले २३ हजार ६३१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा एमालेकी जागेश्वरदेवी चौधरी निर्वाचित हुनुभएको छ । उहाँले २३ हजार ८६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रकी हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गर्नुभएको छ ।

नगरपालिकाका १७ वडामध्ये कांग्रेस नौ मा र एमाले आठ वडामा विजयी भएको छ । नवनिर्वाचित प्रमुख खाणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मतपरिणाम सार्वजनिक लगत्तै पत्रकारसँग कुराकानी गर्दै उहाँले सबैलाई मिलाएर काम गर्ने बताउनुभयो ।

रुपन्देहीमा काँग्रेसले बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा जित हासिल गरेको छ । एमालेले देवदह नगरपालिकामा जित हासिल गरेको छ ।

यस्तै जिल्लाका १० गाउँपालिकामध्ये काँग्रेसले शुद्धोधन, कञ्चन, मायादेवी र सम्मरीमाई गाउँपालिकामा जित हासिल गरेको छ । एमालेले गैडहवा र ओमसतिया गाउँपालिकामा जित हासिल गरेको छ । कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, मर्चवारीमा जनता प्रगतिशील पार्टी र रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button