तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर गोल्ड कप आगामी जेठ १९ देखि हुने

मकवानपुर । मकवानपुरका स्थानीय तहहरूको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिता यही जेठ १९ गतेबाट सुरु हुने भएको छ । 

हेटौँडामा आज पत्रकार सम्मेलन आयोजना गरेर चौथो संस्करणको गोल्ड कप आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

प्रतियोगितालाई मकवानपुरको १० वटै स्थानीय तहले आर्थिक सहयोग गर्दै छन् । 

प्रतियोगिताको लागि हेटौँडा उपमहानगरपालिकाले २५ लाख, थाहा नगरपालिकाले १० लाख र अन्य ८ गाउँपालिकाहरूले ५–५ लाख सहयोग गर्ने भएका छन् । 

मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा नेपालका ए डिभिजनका फुटबल क्लब साथै मोफसलका क्लब, विदेशी टोलीसँगै आयोजकको तर्फबाट विजय यूथ क्लबको सहभागिता रहने प्रतियोगिताका संयोजक प्रताप विष्टले जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा संयोजक विष्टले यस वर्ष प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलीले १० लाख प्राप्त गर्ने जानकारी दिनुभयो । 

यसअघि तेस्रो गोल्ड कप विजेताले १० लाख र उपविजेताले ५ लाख हात पारेको थियो ।  

यस्तै प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् भने, सर्वोत्कृष्ट खेलाडीले ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । साथै हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्ने विष्टले बताउनुभयो । 

प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button