तपाईँ सुन्दै हुनुहुन्छः

मूल्य, मान्यता र सिद्धान्त अनुसार चल्न नसक्दा सहकारीहरूमा समस्या उत्पन्न भएको छ : मन्त्री श्रेष्ठ

धुलिखेल । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरू मूल्य, मान्यता, सिद्धान्त अनुसार चल्नु पर्नेमा जोड दिनु भएको छ । 

काभ्रेको धुलिखेलमा आयोजित सुशासन प्रवर्द्धन र व्यवस्थापन विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारीहरू मूल्य, मान्यता र सिद्धान्त भन्दा बाहिर गएकाले समस्या उत्पन्न भइरहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले सहकारीलाई प्रभावकारी रुपमा अगाडी बढाउने क्रममा नीतिगत, कानुनी र व्यवहारिक रुपमा काम गर्दा आएको कठिनाइ हटाउन मन्त्रालय तयार रहेको भन्दै सहकारी अभियानलाई अगाडी बढ्न परिरहेको अप्ठेराको गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा रहेको पनि जानकारी दिनुभयो ।

उहाँले संविधानमा सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण हुने भन्दै सहकारीहरूलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनु पर्नेमा जोड समेत दिनुभयो ।

सहकारी क्षेत्रभित्र देखिएका खराब क्रियाकलाप नियन्त्रण गर्न नियामक निकायहरूको भूमिका प्रभावकारी हुन नसकेको हो की भन्ने प्रश्न उठिरहेको भन्दै यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी ढङ्गबाट अगाडी लानुको विकल्प नभएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाँले सहकारीको सिद्धान्त मूल्य मान्यता र प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै संविधानमा समृद्धिको आधारस्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारीताका साथ अघि बढाउन यस क्षेत्रका सबै पक्षको महत्त्वपूर्ण जिम्मेवारी रहेको भन्दै त्यस तर्फ जिम्मेवार बन्न सम्बद्ध सबैलाई आग्रह समेत गर्नु भयो ।  

उहाँले मन्त्रालय संविधान अनुसार भूमिहीनलाई भूमिपति बनाउन, सहकारी अभियानलाई प्रभावकारी बनाई सुशासन प्रवर्द्धन गर्न सधैँ लागिरहेको पनि बताउनुभयो ।  

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रालय दृढ भएर लागेको बताउनु भयो । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्न नदिन कानुन, नीति र व्यवहारमा सुधार गर्दै स्वनियमनमा जानु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले सहकारी सङ्घसंस्थामा सुशासन र प्रवर्द्धनको लागि एकिकृत निर्देशिका, २०७९ जारी गर्नुभयो । 

सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संयुक्त रुपमा आयोजना गरेको गोष्ठी भोलिसम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button