तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख विहीन 

जुम्ला । जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रमा विगत ५ महिनादेखि कार्यालय प्रमुख विहीन हुँदा स्वास्थ्य सेवा प्रवाह तथा प्रशासनिक काम प्रभावित भएको छ । कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस ६ गते देखि बिना कागजात सरुवा भएको भन्दै जाजरकोट गएसँगै हालसम्म अर्को कार्यालय प्रमुख नआउँदा दैनिक स्वास्थ्य सेवा ठप्प भएका हुन् । 

५ महिना सम्म कार्यालय प्रमुख विहीन भएपछि हाल सम्म कार्यालयको वित्तीय खर्च शून्य छ । स्वास्थ्य केन्द्रका वैद्य गोर्ख बहादुर रावतले भन्नुभयो,“पुसमा खरिद गरिएको २० लाख बराबरको फर्निचरको भुक्तानी भएको छैन । १५ जना कर्मचारीले ५ महिनादेखि तलब खान पाएका छैनन् । नयाँ प्रमुख आउने टुङ्गो छैन । औषधी अभाव चुलिँदै गएको छ । बाथ सेवा पनि ठप्प छ । सेवाग्राही फर्किने गरेका छन् ।”

जम्मा ६ जनाको दरबन्दी रहेको २ जना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । भने १३ जना करार कर्मचारी रहेका छन् । सबैले ६ महिनादेखि तलब पाएका छैनन् । भने स्वास्थ्य केन्द्रमा सबैखाले औषधी अभाव छ । 

वैद्य रावतले कार्यालय प्रमुख पठाई दिन गुहार गर्दै विगत ८ दिनदेखि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा धाई रहेको समेत बताउनुभयो । तर गुनासो सम्बोधन हुने वा नहुने कुनै टुङ्गो नलागेको उहाँको भनाई छ । 

उहाँले थप्नुभयो,“उपचार गर्न आएका सेवाग्राही औषधी तथा आवश्यक सामग्री नहुँदा रिसाएर फर्किने गरेका छन् । । आयुर्वेदलाई आवश्यक फर्निचर, ल्याबका सामग्री र औषधी खरिदको भुक्तानी समेत हुन सकेको छैन । कार्यालय प्रमुख नहुँदा २० लाख भुक्तानी रोकिएको छ ।”

१० महिनाको पुँजीगत खर्च शून्य
अख्तियारी प्राप्त सहितको दरबन्दी अनुसार जनशक्ति नहुँदा आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको १० महिनाको पुँजीगत खर्च शून्य भएको छ । जुम्लामा एक मात्र रहेको आयुर्वेद अस्पताल धरापमा पर्ने सम्भावना रहेको छ । १० महिना कटिसक्दा कार्यालयको पुँजीगत खर्च शून्य छ । 

वैद्य रावतले भन्नुभयो,“पुँजीगत जम्मा बजेट कति हो भन्ने थाहा छैन । तर अहिले पुँजीगत खर्च शून्य छ । खरिद सामाग्रीको २० लाख भुक्तानी रोकिएको छ । भने,मर्मत सम्भार, डिपिआर निर्माण ५० खर्च भएको छैन । भने, औषधी खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका कामहरू हुन सकेका छैनन् । जसका कारण पुँजीगत बजेट शून्य छ ।” 

आयुर्वेदका वैद्य गोर्खबहादुर रावतका अनुसार आफूलाई मन्त्रालयले एउटा पत्र दिएको थियो । सो पत्रमा तलब, भत्ता, पोषाक, घरभाडा, बत्ती, बिजुली महशुल शीर्षक खर्च गर्नका लागि पत्र प्राप्त भएको छ । तर त्यस पत्रले करारका कर्मचारीले तलब नपाउने भएकाले समस्या भएको छ । अर्को अन्य कामहरू केही पनि गर्न नसकिने रहेको छ । 

औषधी नहुँदा फर्किन्छन् सेवाग्राही 
औषधी उपकरण नहुँदा आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लामा आउने सेवाग्राही उपचार नगरी फर्किने गरेका छन् । दैनिक १५ देखी ३० जना सेवाग्राही आउँछन् ।  तर औषधी  अभावले  समस्या बढेको छ । खातामा पैसा छ तर औषधी खरिद गर्न काम नबढाएपछि सेवाग्राही औषधी लिनबाट समेत वञ्चित भएका छन् । अहिले त औषधी छैन भन्ने थाहा पाएपछि सेवाग्राही घटन थालेका छन् । 

गत आर्थिक वर्षमा पनि कार्यालय प्रमुखकै कारण काम गर्न नसकेर रु १२ लाख फ्रिज भएको थियो ।  आयुर्वेद स्वास्थ्य केन्द्र धरापमा परेकोमा स्थानीयको चिन्ता बढेको छ । स्थानीय अगुवा राजुशरण न्यौपानेले ठूलो उद्देश्यका साथ स्थापना गरिएको संस्थामा भएका कर्मचारीले काम नगर्नु र राज्यले पनि यसको स्तर वृद्धि ध्यान नदिएको गुनासो गर्नुभयो । 

सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक लक्ष्मी नारायण तिवारीका अनुसार समस्या समाधानका लागि चाँडै पहल गर्न सचिव समक्ष विषय पुर्याईने र चाडै समस्या समाधान हुने आशा गरिएको बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँका अनुसार आयुर्वेद अस्पताल पहिला देखिको अवस्था अस्तव्यस्त भएको हुँदा प्रदेश सरकारमार्फत पहल भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button