तपाईँ सुन्दै हुनुहुन्छः

मानव सेवा आश्रमको १८ औँ शाखा जनकपुरधाममा सञ्चालन हुने 

जनकपुरधाम  । सडक पेटी, सार्वजनिक स्थल तथा खुल्ला आकाश मुनि कष्टकर जीवन बिताउनेहरूलाई उद्धार गरेर मानव सेवा गर्दै आएको मानव सेवा आश्रमले जनकपुरधाममा शाखा स्थापना गर्न लागेको छ । 

आश्रमको १८ औँ जिल्ला शाखाको रुपमा मधेस प्रदेशको राजधानी जनकपुरधाम  यही जेठ १४ गतेबाट सञ्चालनको तयारी भएको आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिनुभयो । 

आश्रमले निक्कै कष्टकर जीवन बिताउने त्यस्ता व्यक्तिको उद्धार गरेर बाँस गाँस तथा कपासका साथै उपचारको पनि व्यवस्था गर्दै आएको  छ । आम मनकारीको सहयोग तथा नेपाल सरकारको पनि थोरै सहयोग रहेको मानव सेवा आश्रमको जनकपुरधाम स्थित शाखामा ७० जनालाई राख्ने व्यवस्था गर्न लागेको जानकारी पनि प्रवक्ता बर्तौलाले दिनुभयो । 

निस्वार्थ भावले सञ्चालनमा रहेको मानव सेवा आश्रमले गरेको कामको सबैतिर प्रशंसा भइरहेको बेलामा मधेस प्रदेशको राजधानी जनकपुरधाममा पनि सञ्चालन भएपछि यस क्षेत्रका त्यस्ता व्यक्तिहरूको लागि लाभ पुग्ने भएको छ । 

मानव सेवा आश्रमको धनुषा शाखाको उद्घाटन मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले जेठ १४ गते गर्नुहुनेछ । अहिले आश्रमको भौतिक व्यवस्थापन गर्ने काम भइरहेको छ । 

जनकपुरधामको तत्कालीन गणेश पार्टी प्यालेस तथा पहिलाको श्रम कार्यालय भएको भवनमा मानव सेवा आश्रमको कार्यालय राखिने भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button