तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात किराले बाली सखाप बनाएपछि जुगलका किसान चिन्तित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अज्ञात किराले बाली सखाप पारेपछि किसानहरू चिन्तित भएका छन् । 

हुर्कँदै गरेको आलु, सिमी र मकै बाली किराले सखाप पारेपछि किसानहरू चिन्तित भएका हुन् ।

जिल्लाकै कर्णाली भनेर चिनिने सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा न ६ हगामकी किसान म्हेन्दु माया तामाङ किराले बाली सखाप पारेपछि चिन्तामा हुनुहुन्छ । आउने दिनहरू भोकै बस्नु पर्ने हो कि भन्ने चिन्ताले  सताएको उहाँ बताउनुहुन्छ ।

जुगल गाउँपालिकाका वडा न ६ र ७ मा अज्ञात किराको प्रकोप बढी देखिएको छ । बाँकी वडाका खेतबारीहरूमा लगाएका अन्न तरकारी बालीमा पनि अज्ञात किराले  उत्तिकै क्षति पुर्‍याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विक बताउनुहुन्छ । तल्लो भेगतिर मकै र माथिल्लो भेगतिर आलु र सिमी लगायतका बालीमा किराको प्रकोप देखिन थालेपछि गाउँपालिकाले कीटनाशक औषधी छर्कन सुरु गरेको उहाँले जानकारी दिनुभयो  ।

अज्ञात किराले मकै बालीमा भन्दा पनि गोडने बेलाको आलुमा बढी क्षति पुर्‍याएको कृषि शाखाका प्रमुख लालबहादुर बयाक बताउनुहुन्छ । सुरुको चरणमा बालीहरूमा क्षति धेरै भए पनि अहिले भने केही नियन्त्रणमा आइसकेको उहाँको भनाई  छ ।

आलु र अन्न खेतीबाट नै आफ्नो जीवन निर्वाह गर्दै आइरहेको जुगलका स्थानीयहरूको अन्य कुनै आयस्रोत छैन । त्यसैले पनि हुर्कँदै गरेको आलु, मकै लगायतका अन्य बाली किराले खाएर सखाप हुनुभन्दा अगाडि नै नियन्त्रण र रोकथामका लागि स्थानीय सरकार गम्भीर हुन पर्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button