तपाईँ सुन्दै हुनुहुन्छः

आठ सय किलोमिटर सडक र तीन सय पुल निर्माण गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा थप ८०० किमी सडक निर्माण, २५७ किमी स्तरोन्नति र ३०० पुल निर्माण गर्ने भएको छ ।

आज बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माणाधीन सडक सम्पन्न गर्ने र आधुनिक सडक निर्माण गर्ने सरकारको योजना रहेको बताउनुभयो । पूर्व–पश्चिम राजमार्गलाई बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण एसियन हाइवे स्तरमा स्तरोन्नति गर्ने नीतिअनुरूप कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो । पथलैया–कमला र पथलैया–नारायणगढ खण्डको निर्माण सुरु गरिने भएको छ ।

file photo

काठमाडौँ तराई मधेस द्रुतमार्ग तोकिएको समयमा सम्पन्न गर्न निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रिय राजमार्ग र तराई/मधेसका जिल्ला सदरमुकाम जोड्ने सडकलाई मापदण्डका आधारमा कम्तीमा चार लेनमा स्तरोन्नति गरिने छ । सप्तरीको गोविन्दपुर–छिन्नमस्ता हुँदै उदयपुरको गाईघाटसम्मको सडक निर्माणलाई प्राथमिकता दिइने सरकारको योजना छ ।

चक्रपथ लगायत काठमाडौँ उपत्यकाका सडक बिस्तार र स्तरोन्नति गर्नुका साथै सम्भाव्य स्थानमा फ्लाई ओभर निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । तीन तहको सरकारको साझेदारीमा कालोपत्रे सडक नपुगेका स्थानीय तहमा सडक निर्माण गरी प्रादेशिक तथा राष्ट्रिय सडक सञ्जालसँग आबद्ध गरिने बताइएको छ ।

राष्ट्रिय गौरवका कालीगण्डकी, कर्णाली र कोसी कोरिडोर निर्माण र स्तरोन्नतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । कर्णाली कोरिडोरमा बाँकी ट्याक खोल्ने काम सम्पन्न गरेर आगामी वर्ष हुम्ला जिल्लालाई सडक सञ्जालसँग जोडिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button