तपाईँ सुन्दै हुनुहुन्छः

कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहक बनाइने

काठमाडौँ । सरकारले कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रुपमा विकास गर्ने भएको छ ।

file photo

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा कृषि नीति तर्जुमा गरी कृषि अनुसन्धान यान्त्रिकीकरण, व्यवसायीकरण र जलवायु अनुकूल प्रविधिको प्रवर्द्धन गर्ने उल्लेख छ ।

खाद्यवस्तुको उत्पादन बढाउने तथा प्रशोधन लागत घटाउने, गुणस्तरीय उन्नत तथा वर्ण शङ्कर बीउ विकास गरी बीउ बिजनमा आत्मनिर्भर बनाइने नीतिमा उल्लेख गरिएको छ । अर्ग्यानिक खेती प्रणालीलाई प्रोत्साहन गरी नेपाली कृषि उपजको गुणस्तर र मूल्य प्रतिस्पर्धी बनाई कृषि उपजको आयात व्यवस्थापन गरी विषादी र क्वारेनटाइन परीक्षणमा निजी क्षेत्रलाई समेत सहभागी गराइने नीतिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मध्यावधि समीक्षाको आधारमा पुनः संरचना गरी प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव्य बाली तथा वस्तुका जोन प्रदेशमा हस्तान्तरण गरिने एवं रासायनिक मलको आपूर्ति सुनिश्चित गरी कृषकलाई संरक्षण गर्ने नीति लिने भएको छ । ठूला नहर निर्माण मूल एवं शाखा नगरको निर्माण तथा मर्मत गर्ने सार्वजनिक नीतिमा उल्लेख गरिएको छ ।

कृषियोग्य भूमिमा वर्षैभर सिँचाइ सुविधा उपलब्ध गराउने नीतिअनुरूप आगामी वर्ष थप २२ हजार २०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइने छ भने भेरी बबई डाइभर्सनको हेड बक्स तथा पावर हाउस र सुनकोसी मरिन डाइभर्सनको सुरुङ निर्माण कार्य तीव्र रूपमा अघि बढाउने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button