२०७९ साल असार २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरमा पदभार ग्रहण: अनुत्पादक खर्च कटौती गर्ने निर्णय

रोहित काफ्ले २०७९ जेठ १० गते १८:५८

झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीसहित नवनिर्वाचित जनप्रतिनिधिहरूले आज एक समारोहबिच पदभार ग्रहण गर्नुभएको छ ।

प्रदेश नं १ का भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा नगरपालिकाको सभा हलमा आयोजित समारोहबिच पदभार ग्रहण गर्दै नवनिर्वाचित प्रमुख पोखरेलले नगरपालिकाको कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालन गरी कार्यालयबाट सम्पादन भएका सेवा र कार्यहरूको सम्बन्धमा नागरिक एवम् सेवाग्राहीहरूबाट प्रतिक्रिया लिने कार्य सुरुआत गरिने, सरकारले पहिचान गरेका एक लाख रुपैयाँसम्मको उपचार सहुलियत प्राप्त गर्ने गम्भीर प्रकृतिका रोग लागेका बिरामीका लागि नगरपालिकाबाट हाल उपलब्ध गराउँदै आएको यातायात खर्च ५ हजारलाई दोब्बर गरी १० हजार उपलब्ध गराउने र क्रमशः सो रकम वृद्धि गर्दै ५० हजारसम्म पुर्‍याइने घोषणा गर्नुभयो ।

त्यस्तै नगरपालिकामा रहेका हलुका सवारी साधन, मोटरसाइकल र अन्य सवारी साधनहरूको प्रयोग, उपयोगिता र उपादेयता सम्बन्धमा अध्ययन गरी सवारी साधनमा हुने अनुत्पादक खर्च कटौती गरिने उहाँले बताउनुभयो । सो सम्बन्धमा १५ दिनभित्र सुझाव पेश गर्न अधिकृत खेमराज प्रसाईँको संयोजकत्वमा लेखा अधिकृत सुभाष भट्टराई र अधिकृत गणेश श्रेष्ठ रहेको अध्ययन समिति गठन गर्ने निर्णय गरिएको पोखरेलले बताउनुभयो ।

भद्रपुरमा नवनिर्वाचित ५२ जना जनप्रतिनिधिले शपथ लिँदै आजैदेखि पदभार ग्रहण गर्नुभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिनुभयो ।

सम्बन्धित