तपाईँ सुन्दै हुनुहुन्छः

हत्याको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय कान्छा लामा तामाङको हत्यामा संलग्न मकवानपुरका ४५ वर्षीय कान्छामान ठोकर र ललितपुरको गोदावरीकी ४० वर्षीया गायत्री नगरकोटीलाई शुक्रवार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

तामाङको शव यही जेठ ५ गते काठमाडौँको दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बागमती नदी किनारमा फेला परेको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा ठोकर र नगरकोटीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुवैले वैशाख २८ गते काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित विष्णुमती पुल नजिक रहेको शिव मन्दिर परिसरभित्र हम्मरले हानी घाँटीमा सलले कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button