तपाईँ सुन्दै हुनुहुन्छः

पुँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय अन्तर्गतका आयोजना प्रमुखहरूलाई पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ ।

उहाँले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे समेत जानकारी लिनुभएको हो ।

मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सकिने ठाउँ नरहेको बताउँदै काम चुस्त र दुरुस्त बनाउन तथा देखिने गरी काम गर्न निर्देशन दिनुभयो । बारम्बार निर्देशन दिँदा पनि पुँजीगत खर्चमा खासै प्रगति नभएको बताउँदै उहाँले भन्नुभयो, ‘हामीले बारम्बार छलफल सल्लाह गर्छौँ तर कामको गति उस्तै छ । हामीसँग समय थोरै छ, देखिने गरी काम गरौँ ।’

काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले जनताले अनुभूत गर्ने गरी काम गर्न नसकेको मन्त्री झाँक्रीको भनाई छ ।

मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आयोजनाहरूको पुँजीगत खर्चको स्थिति सन्तोषजनक नदेखिएकाले सबै आयोजना प्रमुखहरूलाई सक्रियतापूर्वक काम गर्न निर्देशन दिनुभयो ।

मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरका अनुसार चालु आर्थिक वर्षमा चालुतर्फ ५३.३९ प्रतिशत र पुँजीगततर्फ ३५.३९ प्रतिशत गरी कूल ३६.७३ प्रतिशत खर्च भइसकेको छ । उहाँले अघिल्लो वर्षको सोही अवधिमा समग्रमा ६२ प्रतिशत खर्च भएको बताउँदै यस वर्ष मन्त्रालयको खर्चको स्थिति सन्तोषजनक नरहेको बताउनुभयो ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले हालसम्म विभागले ४० प्रतिशत प्रगति गरेको विवरण मन्त्री समक्ष पेश गर्नुभयो । उहाँले आगामी असार १५ गतेसम्म विभागले झन्डै ८० प्रतिशत कार्य प्रगति ल्याउने पनि बताउनुभयो । यस्तै सघन सहरी कार्यक्रमको प्रगति विवरण ४० प्रतिशत रहेको उहाँले बताउनुभयो ।

मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, नगर विकास कोष, आवास कम्पनी, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सङ्घीय संसद् सचिवालय लगायत विभाग र निकायले काम गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button