तपाईँ सुन्दै हुनुहुन्छः

उषा ठाकुर र तारानाथ दाहाललाई ‘भद्र घले पदक’

काठमाडौँ । त्रिमूर्ति निकेतनले त्रिमूर्ति निकेतनबाट गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ र ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को आरम्भदेखि अन्त्यसम्मको नेतृत्वदायी भूमिकामा सार्थक, उल्लेखनीय र विशिष्ट योगदानका निम्ति प्रा.डा.उषा ठाकुरलाई ‘भद्र घले पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी त्रिमूर्ति निकेतनको स्थापनामा गुरुतर भूमिका निर्वाह गर्दै देश देशान्तरमा संस्थाको गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदान पुर्‍याएबापत श्री तारानाथ दाहाललाई ‘भद्र घले पदक’ समर्पण गर्ने त्रिमूर्तिको पूर्व बैठकबाट निर्णय भैसकेको थियो ।

प्रमाणपत्र र पदकका साथ भद्र घले पदकको राशि जनही पच्चीस हजार रुपियाँ रहेको छ । आगामी जेठ २१ गते त्रिमूर्ति दिवसका अवसरमा श्री गोविन्दराज विनोदीलाई लेखनाथ पौड्याल पुरस्कार, श्रीमती मिथिला शर्मालाई बालकृष्ण सम पुरस्कार, श्री शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कारका साथै ५९ जना महानुभावलाई सत्यमोहन जोशी शताब्दी पदक र दुई जनालाई भद्र घले पदक पनि समर्पण गरिने कार्यक्रम रहेको छ ।

भद्र घले पदक हरेक वर्ष त्रिमूर्ति निकेतनका सदस्यहरूमध्ये एक जनालाई समर्पण गरिन्छ । यस भन्दाअघि सर्वश्री नरेन्द्रराज प्रसाईँ, इन्दिरा प्रसाईँ, खनूप्रुदे ‘रामबाबु’, शताब्दी पुरुष डा.सत्यमोहन जोशी, हरिहर विरही, डा. मोदनाथ प्रश्रित, प्रा.ठाकुर पराजुली, केके कर्माचार्य, सलोमी लेप्चा तिमोथी र प्रा.डा.गार्गी शर्माले ‘भद्र घले पदक’ ग्रहण गरिसक्नुभएको थियो ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईँको अध्यक्षतामा आज बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button