तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीका ६ पालिकाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ

रुपन्देही ।रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिनुभएको छ । पछिल्लो पटक मतपरिणाम आएका ६ पालिकाका प्रमुख तथा अध्यक्षले शपथ लिनुभएको हो ।

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र गैडहवा गाउँपालिकामा नवनिर्वाचित प्रमुख/अध्यक्षहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

भैरहवाको बालमन्दिरमा सोमबार आयोजित एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत धनसिंह महराले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शपथग्रहण गराउनुभयो ।सोमबार शपथ लिनेहरूमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, सैनामैना नगर प्रमुख फणीन्द्र शर्मा, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्दीन खान, मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरई, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तव र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले शपथ लिनुभएको हो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत धनसिंह महराले सबैको सद्भाव र सहयोगले निर्वाचनका दौरान रुपन्देहीमा कुनै अप्रिय घटना नभएको बताउनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनतालाई केन्द्रमा राखेर कानूनमा रही काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button