२०७९ साल असार २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सिटीलाई प्रिमियर लिगको उपाधि

रेडियो नेपाल २०७९ जेठ ९ गते ६:२९

काठमाडौं । अन्तिम खेलमा एस्टन भिल्लाविरुद्ध ३–२ को जित निकाल्दै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।

पहिलो हाफमा १–० ले पछि परेको सिटीले खेलमा पुनरागमन गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो । दोस्रो स्थानको लिभरपुललाई दुई अंकले पछि पार्दै पेप ग्वार्डिओलाको सिटीले उपाधिको रक्षा गरेकाे हाे ।

सिटीलाई जित दिलाउन एल्काई गुन्डोगनले दुई तथा रोड्रीले एक गोल गरे । म्याटि क्यासले ३७औं मिनेटमा गरेको गोलसँगै भिल्लाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

लिभरपुलका पूर्व खेलाडीसमेत रहेका फिलिप काउटिन्होले ६९औं मिनेटमा गरेको गोलसँगै दोब्बर पारेको अग्रता जोगाउन भिल्ला असफल भयो ।

गुन्डोगनले ७६औं मिनेटमा गरेको गोलसँगै स्कोरलाइन २–१ मा ल्याएको सिटीका लागि दुई मिनेट नबित्दै रोड्रीले बराबरी गोल फर्काएका थिए । निर्धारित ९० मिनेटको खेल सकिन ९ मिनेट बाँकी रहँदा सिटीका लागि गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

सिटीले जित निकाल्न नसकेको भए दोस्रो स्थानको लिभरपुलले उपाधि जित्ने निश्चित थियो । तर, अन्तिम खेलमा नाटकीय जित निकाल्दै सिटी लगातार च्याम्पियन बन्यो ।

विजेता सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोडेको छ । यस्तै ७४ अंक जोडेको चेल्सी तेस्रो स्थानमाइ रहँदा ७१ अंक जोडेको टोटेनह्याम हट्सपरले पनि चौथो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनायो ।

६९ अंक जोडेर आर्सनल पाँचौं स्थानमा रहँदा म्यानचेस्टर युनाइटेड ५८ अंकसहित छैठौं भयो । यसअघि नै निश्चित भइसकेका वाटफोर्ड र नर्विच सिटीसँगै बर्नली पनि रेलिगेसनमा परेको छ ।

सम्बन्धित