तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीका सबै पालिकाको मतगणना सकियो

जलेश्वर । महोत्तरीको १५ वटै पालिकाको मतगणना आज सकिएको छ । 

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लाको आज स्थानीय तह निर्वाचन २०७९ को मतगणना कार्यक्रम सम्पन्न भएको छ । 

सम्पन्न मतगणना परिणामअनुसार जिल्लाका पाँच स्थानीय तहमा जनता समाजवादी पार्टी नेपाल, पाँच स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी, दुई स्थानीय तहमा नेपाली कांग्रेस र एक÷एक स्थानीय तहमा नेकपा(एमाले), तराई मधेस लोकतान्त्रिक पार्टी तथा एक स्थानीय तहमा स्वतन्त्रले विजय प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत खरेलले बताउनुभयो । 

उहाँका अनुसार जिल्लाको जलेश्वर नपा, गौशाला नपा, पिपरा गापा, एकडारा गापा र सम्सी गापाको नेतृत्व जसपा नेपालले प्राप्त गरेको छ । 

त्यस्तै जिल्लाको भङ्गाहा नपा, औरही नपा, बलवा नपा, मटिहानी नपा र सोनमा गापामा लोसपा नेपालले नेतृत्व प्राप्त गरेको छ । 

जिल्लाको मनरासिस्वा नपा र लोहारपट्टी नपामा नेपाली काँग्रेसले नेतृत्व पाएको छ । सोही क्रममा जिल्लाको रामगोपालपुर नपामा एमाले, महोत्तरी गापामा तमलोपा र बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार (जेब्रा छाप)ले नेतृत्व प्राप्त गरेका छन् ।

महोत्तरीको १५ स्थानीय तहमध्ये १२ मा प्रमुख अध्यक्ष र उपप्रमुख र उपाध्यक्ष दुवै एउटै पार्टी(प्यानल) बाटै निर्वाचित भएका छन् भने तीन स्थानीय तहको परिणाम मिश्रित आएको छ । 

मिश्रित परिणाममा जिल्लाको भङ्गाहा नपामा प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस, बलवा नपा प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस र महोत्तरी गापा अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् । 

समग्रमा जसपा पाँच प्रमुख र अध्यक्ष र ६ उपप्रमुख र उपाध्यक्ष, लोसपा पाँच प्रमुख र अध्यक्ष र तीन उपप्रमुख र उपाध्यक्ष, एमाले एक प्रमुख र अध्यक्ष र एक उपप्रमुख र उपाध्यक्ष, स्वतन्त्र एक प्रमुख र अध्यक्ष र एक उपप्रमुख र उपाध्यक्ष र तमलोपाका उम्मेदवार एक अध्यक्षमा विजयी भएका छन्  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button