तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधि नै गल गैँती लिएर सडकमा

पर्वत । देशको विभिन्न ठाउँमा अझै मतगणना जारी भइरहेपनि पर्वतमा भने मतगणना सकिए लगत्तै जनप्रतिनिधि नै गल गैँती लिएर सडक मर्मत र नाली सफाइमा लागेका छन् ।

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङलाई सदरमुकाम कुश्मा बजारसँग जोड्ने दुर्लुङ–कुश्मा सडक खण्डको केही भाग हालै निर्वाचित भएका जनप्रतिनिधिहरूले नै सफा गरेका छन् ।

बर्षा यामको समय आएको र दिनहुँ जसो भइरहेको वर्षाका कारण नाली पुरिएर सडक नै बिग्रने अवस्था आएपछि जनप्रतिनिधिहरू नै गल गैँची बोकेर सडकको नाली निर्माणमा लागेको हुन् । दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याले आफू सहित हालै निर्वाचित भएका अन्य चार जना सदस्यहरूको नेतृत्वमा केही गाउँलेहरूको सहयोग लिएर झन्डै साढे दुई किलोमिटर सडकको नाली सफा गरिएको बताए ।

नाली अड्किएको ढुङ्गा, माटो, पात, रुखका जरा लगायतका कारण नाली थुनिएका कारण आफूहरूले नै  सडक नाली सफाइमा निस्किएको उनको भनाई छ । जनतालाई सहजरुपमा सेवा सुविधा दिन्छु भनेर प्रण गरेका छौ बर्खा सुरु हुन लाग्यो अव सडक खानेपानी तथा अन्य कुनै पनि अत्यावश्यक बस्तुहरू हेरेर हामी जनतालाई सहयोग गरिरहेका छौ ।

‘हामी जनताको सेवा गर्न भनेर निर्वाचित भएका हौँ  । नाली थुनिँदा सडकमा आएको भेलले बाटो एक छिनमा बिगारिदिन्छ । गाउँ आउजाउ गर्ने यातायात नै बन्द हुने अवस्था पनि आउन सक्छ,’ अध्यक्षले भने, ‘कोदाली र साबेलले फाल्न सक्ने नालीको भाग हामीले सफा गरेका हौँ । अब अलिकति भाग मान्छेले सफा गर्न नसक्ने खालको छ, त्यसका लागि जेसीबी बोलाइएको छ ।’

वडाध्यक्ष सहित सदस्यहरू महेन्द्र कुमार गुरुङ, चूडामणि शर्मा, सुधा गुरुङ र गङ्गामाया बि.क. सहित झन्डै १५ जना गाउँलेहरू मिलेर कुश्मा हुँदै जाने डाँडा बिसाउनेदेखि रोहोटे चोकसम्मको भागमा सफा गरिएको हो । पर्वतका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले शपथ खाए सँगै जनताको सुख दुखमा साथ दिन लागेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button