तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने हतुवागढी गाउँपालिकाको पहिलो निर्णय

भोजपुर । स्थानीय तहको निर्वाचनमा विजयी भएका पालिका प्रमुखहरूले यतिवेला पद बहाली गरिरहेका छन् । कुर्सीमा बसेर पद बहाली गरे पछि उनीहरूले केही न केही नयाँ निर्णयहरू समेत सुरु गरेका छन् । भोजपुरको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिका अध्यक्षमा पुन दोस्रो पाँच बर्षे कार्यकालका लागि विजयी भएका प्रेमकुमार राईले पद बहाली गर्दे ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने पहिलो निर्णय गर्नु भएको छ ।

हतुवागढी गाउँपालिका क्षेत्र भित्रका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय भएको हो । गाउँपालिका भित्र ९ वटा वडा रहेका छन् । पद बहाली सहित निर्वाचित जनप्रतिनिधिको शपथ ग्रहणसँगै गाउँपालिकाले यो पहिलो निर्णय गरेको हो । भौगोलिक रूपले विकट गाउँपालिकाका दुर्गम क्षेत्रका ६५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर आफ्नो पहिलो निर्णय नै सो भएको नवनिर्वाचित अध्यक्ष राईले बताउनु भयो । 

‘शारीरिक र स्वास्थ्यको दृष्टिकोणले संवेदनशील उमेरका ज्येष्ठ नागरिकको सहजताका लागि हाम्रो गाउँपालिकाले यो पहिलो निर्णय गरेको हो’ अध्यक्ष राईले भन्नुभयो, ‘दोस्रो कार्यकालको सुरुवाती पहिलो कदम नै निःशुल्क स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउने तर्फ लागेका छौँ ।’

गाउँपालिकाले पालिका भित्रका गर्भवती महिलाहरूले स्वास्थ्य संस्था आएर नियमित परीक्षणका साथै प्रसूति सेवा लिएमा ५ हजार पोषणका लागि प्रदान गर्ने भएको छ । गाउँपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यको भनाई रहेको छ । 

नयाँ जनप्रतिनिधिको आवागमनसँगै गाउँपालिकाले गरेको यो पहिलो निर्णयले नागरिकमा उत्साह समेत थपेको छ । स्थानीय तह निर्वाचनबाट पुन नेकपा (एमाले) का तर्फबाट राई र गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र) बाट सुनिता राई उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button