तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीका १३ वटै पालिकाको मत परिणाम सार्वजनिक      

टीकापुर, कैलाली । कैलालीका १३ वटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ । 

धनगढी उपमहानगरपालिकाको आज बिहान मत परिणाम सार्वजनिक भएसँगै कैलालीका १३ वटै पालिकाको मत परिणाम सार्वजनिक भएको हो । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निवर्तमान नगर प्रमुख नृप बहादुर वडलाई १२ हजार ४८ मतले पछि पार्दै विजयी हुनु भएको छ ।       

हमालले २६ हजार, ८६५ मत पाउँदा गठबन्धनबाट काँग्रेसका उम्मेदवार वडले १४ हजार ८१७ मत प्राप्त गर्नु भएको छ । उप–प्रमुखमा नेकपा एमालेकी कन्दकला राना गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई २ हजार ८०९ मतले पछि पार्दै विजयी हुनु भएको छ । रानाले १५ हजार ४७९ मत पाउँदा अधिकारीले १२ हजार ६७० मत पाउनु भएको थियो ।        
अन्य पालिकाको मत परिणाम भने यस अघि नै सार्वजनिक भइसकेको थियो । कैलालीका १३ पालिका मध्ये ४ पालिकामा नागरिक उन्मुक्ति पार्टी, ३ पालिकामा नेपाली काँग्रेस विजयी भएको छ भने नेकपा माओवादी केन्द्र र नेकपा एमाले २÷२ पालिकामा विजयी भएका छन् । यस्तै १/१ पालिकामा एकिकृत समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

टीकापुर र भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ भने लम्कीचुहा र गोदावरी नगरपालिका तथा कैलारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।  

बर्दगोरिया र चुरे गाउँपालिकामा नेकपा एमाले, गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी हुँदा धनगढी उपमहानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button