२०७९ साल असार २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

झापामा हावा–हुण्डरीः एक जना घाइते, १८ सय कुखुरा मरे

रोहित काफ्ले २०७९ जेठ ७ गते १६:२५

झापा । झापाको मेचीनगर नगरपालिका–७ मा गए राति हावाहुण्डरी सहितको वर्षाका कारण कुखुराको खोर ढलेर किच्दा एक जना घाइते भएका छन् भने कुखुरा फार्मका १८ सय ब्रोइलर चल्ला मरेका छन् ।

हुण्डरीले बिजुलीका पोलमाथि रुख ढालेका कारण मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति पनि अवरुद्ध भएको छ । पाक्न लागेको मकै बाली भुईँमा ढलेर सोत्तर भएका छन् ।

मेचीनगर वडा नं. ७ को रौनिका कृषि तथा पशुपालन फार्मका कर्मचारी साजन लिम्बु कुखुराको खोर ढलेर घाइते भएका हुन् । फार्ममा १३ सय वटा ब्रोइलर कुखुराका चल्ला रातिको हुण्डरी सहितको वर्षाले मरेको फार्मका सञ्चालक राजु थापामगरले बताउनुभयो । फार्मका तीन वटा पक्की खोर हुरीले पूरै भत्किएका छन् । खोरमा भण्डारण गरिएको १६ बोरा कुखुराको चारो पानीले भिजेर नष्ट भएको छ ।

टिनको छानो र बाँसको घेराबेरा रहेको खोर ढलेपछि किचिएर कुखुराका चल्ला मरेका हुन् । खोर, चल्ला र चारो गरी रु. १२ लाखभन्दा बढीको क्षति भएको सञ्चालक थापाले बताउनुभयो ।

यसैगरी, मेचीनगर वडा नं. ७ का हरि कटुवालको कुखुरा फार्ममा खोर लडेर ५०० चल्ला मरेका छन् भने पक्की पिलर भएको खोरको टिनको छानो उडाएको छ । फार्मका सञ्चालक कटुवालले फार्ममा सात बोरा दानासहित पाँच लाखको क्षति भएको जनाउनुभयो । सोही वडाको कमला कृषि फार्मको बाख्राको पक्की खोर समेत हुरीले उडाएर क्षति पुर्‍याएको छ भने बालाजी नर्सरीका दुई वटा टनेल भत्काएको छ । फार्ममा रु. दुई लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकले पूर्वपश्चिम राजमार्गमा हावाहुण्डरीले ढालेका थुप्रै रुखहरू हटाएर आवागमन खुलाइएको जानकारी दिनुभयो ।

सम्बन्धित