तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण

सुनसरी । सुनसरीका विभिन्न नगरपालिका र गाउँपालिकामा भर्खरै सकिएको मतगणनाबाट नवनिर्वाचित जनप्रतिनिधिको शुक्रवार शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । 

स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै शुक्रवारदेखि नै आफ्नो पालिका तथा वडामा पदभार ग्रहण गरेका छन् ।

सदरमुकाम इनरुवा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख केदार भण्डारी, उपप्रमुख विनीताकुमारी मेहतासहित वडाध्यक्ष र सदस्यले शुक्रवार शपथग्रहण पछि पदभार ग्रहण गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले प्रमाणपत्र प्रदान गरेपश्चात् शपथग्रहण गरेर पदभार ग्रहण गर्नुभएको हो । 

प्रमुखमा निर्वाचित केदार भण्डारीसँगै उप प्रमुख विनीता कुमारी मेहताले समेत कामकाज सम्हाल्नु भएको छ । कार्यक्रमका वक्ताहरूले नव निर्वाचित जनप्रतिनिधिले जनमतको ख्याल राखी नगरवासीको हकहित र नगरको समग्र विकासमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिए ।

नगर प्रमुखका रुपमा पहिलो सम्बोधन गर्दै भण्डारीले आफ्नो कार्यकाल नगरको समृद्धि र विकासमा केन्द्रित हुने उद्घोष गरेका छन् । सबैलाई समेटेर अघि बढ्ने बताएका भण्डारीले आफूले पाएको जनमतको सम्मान गर्दै अघि बढ्ने बताउनुभयो ।

पदभार ग्रहण कार्यक्रममा सङ्घीय सांसद सीमाराम मेहता, प्रदेश १ का सांसद तथा नेपाली काग्रेंसका केन्द्रिय राजीव कोइराला, इनरुवाका पूर्व नगर प्रमुख राजन मेहता, खेमराज पोखरेल, गोपाल कोइराला, प्रतिस्पर्धीहरू एमालेका सरोज पोखरेल, जसपाका दिलिपचन्द साहु, लोेसपाका चुन्नी खातुन, राप्रपाका चन्देश्वर चौधरी सहितका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

जिल्लाको रामधुनी नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यको शपथग्रहण तथा पदभार कार्यक्रम गरियो । 

रामधुनीमा मेयर शङ्कर चौधरी, उपमेयर तारा थापासहित वडाध्यक्ष र सदस्यको शपथग्रहण र पदभार कार्यक्रम गरिएको बताउनुभयो । 

दुहवी नगरपालिकाकामा नवनिर्वाचित मेयर वेद गच्छदार, उपमेयर मेनुका पोखरेलसहित वडाध्यक्ष र सदस्यको पनि शुक्रवार नै शपथग्रहण र पदभार कार्यक्रम भएको छ । 

भोक्राहा नरसिंह गाउँपालिकाकाका नवनिर्वाचित अध्यक्ष अजमल अख्खतर आजाद, उपाध्यक्ष सुनिताकुमारी उरावसहित वडाध्यक्ष र सदस्यलाई पनि शपथग्रहण र पदभार गरिएको छ । 

सो क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले ४९ जना विपन्न सुकुम्वासीलाई निःशुल्क बिमा गराउने कागजमा सही गराएर अध्यक्ष अजमल अख्खतर आजादको पद पदभार ग्रहण गराउनुभयो । 

देवानगंज गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहता, उपाध्यक्ष कुमारीविभा यादवसहित वडाध्यक्ष र सदस्यले शपथ ग्रहण र पदभार ग्रहण गर्नुभयो ।  

नव निर्वाचित अध्यक्षले शुक्रवार नै पद भार ग्रहण गर्ने देवानगंज गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चूडामणि गुरागाईँले बताउनु भयो । 

शपथ ग्रहण पछि अध्यक्ष मेहताले आफू जनताको हकहितमा जहिले समर्पित रहने र जनताको जनभावना अनुसार अगाडि बढ्ने प्रतिक्रिया दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button