तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसद्वारा बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदानको माग

file photo

बाजुरा । नेपाली काँग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतदानका क्रममा बाजुराको बूढीगङ्गा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा (एमाले)का कार्यकर्ताले ‘बुथ कब्जा गरी’ फर्जी मत हालेको आरोप लगाएको छ ।  

काँग्रेसले आज एक विज्ञप्तिमार्फत एमालेका कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवार र प्रतिनिधिलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी फर्जी मत हालेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौती दिँदै एमालेका तर्फबाट सो नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्य भएको भन्दै काँग्रेसले निन्दा र भर्त्सना गरेको हो ।

“निर्वाचनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा जारी गर्नु परेको घटनाले स्थिति निकै भयावह भएको स्पष्ट छ,” कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बढ्दो असुरक्षा र भयरहित वातावरणमा निर्वाचन गर्ने अवस्था नभएका कारण सदरमुकाम पुगेर राजीनामा दिइसक्नुभएका निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरू बुझ्न बाध्य पारिएकाले नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष निर्वाचन हुन नसकेको काँग्रेसले जनाएको छ ।

निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिने यस किसिमको जघन्य घटनामा संलग्न उपर कानुनबमोजिम कडा कारबाहीको माग गर्दै काँग्रेसले कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button