तपाईँ सुन्दै हुनुहुन्छः

थप ११ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ११ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ८७४ को नमुना परीक्षण गरिएको थियो । दुई हजार ३०० ले पिसिआर र ५७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

सो अवधिमा १२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९५० पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  

सो अवधिमा २० हजार ३४ ले  कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेसनमा १४९ सङ्क्रमित रहेका छन् । 

हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, पर्सा, सप्तरी, रौतहट, बारा, धनुषा, दोलखा, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, रुकुम पूर्व, कपिलवस्तु, प्युठान, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालिकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन् । 

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २८ र ललितपुर १४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button