तपाईँ सुन्दै हुनुहुन्छः

डलरको सञ्चिती सन्तुलित अवस्थामा छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री शर्माले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ७ महिना वरिपरि डलरको सञ्चिती सन्तुलित अवस्थामा भएकाले तल झर्न नदिन एनआरएनबाट डलर खाता खोल्ने लगायतका काम अगाडि बढिसकेको र नेपालको जिडिपी वृद्धि भएकाले यो वर्ष आर्थिक वृद्धि ५.८४ प्रतिशत हुने प्रक्षेपण गरिएको बताउनुभयो । 

अर्थमन्त्री शर्माले आ.व. २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सो कुरा बताउनु भएको हो । 

मन्त्री शर्माले मुलुकको आर्थिक विकासका लागि सबै क्षेत्र जबाफदेही हुनुपर्ने भन्नुहुँदै यो महिना मात्र  २६ हजार ७ सय ५० कम्पनी दर्ता भएकाले व्यवसाय, उद्योग गर्नेको सङ्ख्या र चाहाना बढिरहेको बताउनुभयो । 

मन्त्री शर्माले मुलुकको मुद्रास्फीति ६.५ मा राख्ने लक्ष्य भएपनि हाल ७.२८ प्रतिशत पुगेको जानकारी दिनुहुँदै चालु आर्थिक वर्षमा कर्जा विस्तार उच्च भएकाले बैङ्किङ तरलतामा चाप परेको जानकारी दिनुभयो । 

मन्त्री शर्माले यो वर्ष १६ सय ५ अर्बको आयात भएको र १ सय ७३ अर्बको मात्र निर्यात भएकाले  आयात निर्यात सन्तुलन नहुनु र अघिल्लो वर्षको तुलनामा ०.६ प्रतिशतले रेमिट्यान्समा कमी आएको समेत जानकारी दिनुभयो । 

मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजनालाई बजेटको अभाव नभएपनि प्रक्रिया झन्झटिलो हुँदा अहिलेसम्म बबई सिँचाइ, रानी जमरा सिँचाइ नबनेको भन्नुहुँदै पुँजीगत खर्च गर्न कानुनी र संरचनागत समस्या भएकाले संसदबाट यसलाई समाधान गर्न दलहरुबीच सहमति र सङ्कल्प हुनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button