तपाईँ सुन्दै हुनुहुन्छः

दातृ निकायसँग शिक्षामन्त्रीको आग्रह : स्रोतको अभाव हुनसक्छ, सहयोग गर्नुपर्‍यो 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आइसीटी माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको बताउनुभएको छ । 

शुक्रवार विकास साझेदारीका प्रतिनिधि एवम् विज्ञहरूसँगको प्रि–बजेट समीक्षा बैठकमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।  उहाँले कोभिडको समयमा गुमेको सिकाई क्षति कम गराउन शैक्षिक क्षतिपूर्ति योजना बनाएर अघि बताउनुभयो । उहाँले समयबद्ध रूपमा विद्यालय, शिक्षालय एवम् उच्च शैक्षिक संस्थाको पूर्वाधार पूरा गर्ने योजनाका साथ अघि बढेको सुनाउनुभयो ।  ‘शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना बनाउने योजनाका साथ अघि बढेका छौँ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘यी कार्यहरू पूरा गर्न आगामी तीन वर्ष लाग्न सक्न । यसमा दातृ निकायले सहयोग गर्नुपर्‍यो ।’

प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकासको कार्यमा पहुँच र गुणस्तर बढाउन प्रत्येक स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालयको पहुँच विस्तार गर्न र सिकेको ज्ञान र सीपलाई रोजगारी र आर्य आर्जनसँग आबद्ध गर्ने गरी सिक्दै कमाउँदै कार्यक्रम परीक्षण रुपमा कार्यान्वयनमा ल्याएको बताउनुभयो । 

मन्त्री पौडेलले बदलिँदो परिवेशअनुकुल शैक्षिक गुणस्तर सुधार हुने गरी विद्यालय शिक्षा सुधार योजना तयार गरिएको बताउनुभयो । 

विद्यार्थीको सिकाई उपलब्धि बढाउने विषय र शिक्षक र अभिभावक बीचमा निरन्तर संवाद गर्ने विषयहरू समेत सुधारको प्राथमिकताका क्षेत्रहरू रहेको बताउँदै शिक्षकको पेशागत सहयोग र जबाफदेहिता कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । बैठकमा विकास साझेदारीका प्रतिनिधिहरूले भूकम्पपछि विद्यालय पुनः निर्माण, शिक्षा र शिक्षण सिकाई प्रक्रियाका लागि सहयोग गर्दै आइरहेको बताएका थिए ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button