२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको भानु नगरपालिकामा कांग्रेस विजयी, मेयरमा त्रिपाठी र उपमेयरमा गोतामे निर्वाचित

किरण श्रेष्ठ २०७९ जेठ ६ गते १४:१८

तनहुँ । तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । मेयरमा आनन्दराज त्रिपाठी र उपमेयरमा उमा गोतामे निर्वाचित हुनुभएको छ । 

मेयरमा विजयी त्रिपाठीले १२ हजार २५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सीताराम बजगाईँले ९ हजार ४३ मत प्राप्त गर्नुभयो । 

यस्तै उपमेयरमा निर्वाचित गोतामेले १० हजार ५४७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले ५ हजार ८१७ मत पाउनुभयो । 

४० हजार ९६६ मतदाता रहेको भानु नगरपालिकामा २५ हजार ५७२ मत खसेको थियो । १३ वडामध्ये काँग्रेसले ९,  एमालेले २ र स्वतन्त्रले २ वडामा जित हासिल गरेका छन् ।

कुन वडामा को विजयी ?
भानु–१ को वडाध्यक्षमा काङ्ग्रेसका कान्छीमाया तामाङ, वडा नम्बर २ को अध्यक्षमा एमालेका केशव त्रिपाठी, ३ को अध्यक्षमा काङ्ग्रेसका तुलकुमार गुरुङ, ४ को अध्यक्षमा काङ्ग्रेसकै अर्जुनबहादुर बोहोरा, ५ को अध्यक्षमा काङ्ग्रेसका नहकुल अधिकारी निर्वाचित हुनुभएको छ । 

त्यसैगरि  वडा नं ६ को अध्यक्षमा काङ्ग्रेसका धिरेश खनाल, ७ को अध्यक्षमा काङ्ग्रेसका खुमप्रसाद श्रेष्ठ, ८ को अध्यक्षमा काङ्ग्रेसका ईश्वरबहादुर घिमिरे, ९ को अध्यक्षमा एमालेका मीन गुरुङ, १० को अध्यक्षमा काङ्ग्रेसका हरिहर उप्रेती, ११ को अध्यक्षमा स्वतन्त्रका विमलराज जोशी,  वडा नं १२ मा काँग्रेसका बेलबहादुर अधिकारी र वडा नं १३ स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी हुनुभएको छ ।

सम्बन्धित