तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीका ९ पालिकाको मत परिणाम सार्वजनिक

टीकापुर, कैलाली । कैलालीका ९ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । ९ पालिकामध्ये ३ पालिकामा नागरिक उन्मुक्ति पार्टी, २/२ पालिकामा नेपाली कांग्रेस र नेकपा एमाले तथा १/१ पालिकामा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी विजयी भएका छन् । 

नागरिक उन्मुक्ति पार्टीले टीकापुर र भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा जित हात पारेको छ । टीकापुरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु नगर प्रमुखमा विजयी हुनु भएको छ भने उप–प्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका खडक बहादुर शाह विजयी हुनु भएको छ । 

भजनी नगरपालिकामा पनि नागरिक उन्मुक्तिकै केवल चौधरी प्रमुख र राजु तिरुवा उप–प्रमुखमा विजयी हुनु भएको छ । यस्तै जोशीपुर गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी अध्यक्ष र रेखादेवी कठरीया उपाध्यक्षमा विजयी हुनु भएको छ ।

कैलारी गाउँपालिकामा नेपाली काँग्रेसका रामसमझ चौधरी अध्यक्ष र भगवती चौधरी उपाध्यक्षमा विजयी हुनु भएको छ । गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका वीरेन्द्र भट्ट र उप–प्रमुखमा नेकपा एमालेकी शारदा देवी रोकाया विजयी हुनु भएको छ । यस्तै मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका देविदत्त उपाध्याय र उपाध्यक्षमा नेपाली काँग्रेसका कमल साउँद विजयी हुनु भएको छ । 

वर्दगोरीया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कुँवर र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशराज गिरी विजयी हुनु भएको छ । 

चुरे गाउँपालिकाको अध्यक्षमा एमालेका चक्रबहादुर बोगटी र उपाध्यक्षमा दिपादेवी साउँद विजयी हुनु भएको छ । 

त्यस्तै घोडाघोडी नगरपालिकाको प्रमुखमा एकिकृत समाजवादीका खडक रावत र उप–प्रमुखमा नेपाली काँग्रेसकी गुलीया चौधरी विजयी हुनु भएको छ । 

धनगढी उपमहानगरपालिका, लम्कीचुहा र गौरीगङ्गा नगरपालिका तथा जानकी गाउँपालिकामा मतगणना जारी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button