तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा जीप र बस ठोक्किँदा जीप चालकको मृत्यु, १३ घाइते


पर्वत।पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादीमा जीप र बस ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपचालक बागलुङको काठेखोला गाउँपालिका–७ का ३१ वर्षीय लालबहादुर थापा मगर रहेका छन् । दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । अन्य १० जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।

बागलुङबाट पोखराका लागि छुटेको ग१ज ७२५६ नम्बरको टाटासुमो र पोखराबाट कुश्माका लागि छुटेको ग१ख ५२१८ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । जीप सडकबाट हुत्तिएर सडक बाहिरको नालीको भागमा पुगेको छ ।

केही घाइतेलाई जीपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । अहिले उपचार नै चलिरहेका कारण सबै घाइतेको पहिचान खुलिनसकेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत दिशाबाट गुडेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button