२०७९ साल असार २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरको मनहरीमा गठबन्धन विजयी, अघिल्लो पटकको विजेता एमाले चार सदस्यमा सीमित

रेडियो नेपाल २०७९ जेठ ५ गते ५:११


बागमती।मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज अबेर सार्वजनिक मतपरिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की सीता पुलामी विजयी हुनुभएको हो ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार अध्यक्षमा निर्वाचित कालाखेतीले निवर्तमान अध्यक्षसमेत रहनुभएका नेकपा(एमाले) का उम्मेदवार एकराज उप्रेतीलाई चार हजार ३४६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । कालाखेतीले नौ हजार ३१६ मत प्राप्त गर्दा उप्रेतीले चार हजार ९७० मत प्राप्त गर्नुभयो ।

त्यस्तै नेकपा (एमाले) की उम्मेदवार सुजिता थिङलाई एक हजार १६ मतान्तरले पराजित गर्दै नेकपा (माओवादी केन्द्र) की पुलामी पालिकाको उपाध्यक्ष निर्वाचित हुनुभएको छ । अघिल्लो निर्वाचनमा चार वटा वडामा प्यानलसहित पालिकाको अध्यक्ष, उपाध्यक्ष जितेको एमालेले यो निर्वाचनमा मनहरीमा जम्मा चार जना सदस्य मात्रै जित्न सफल भएको छ ।

सम्बन्धित