तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको ६ वटा पालिकाको मत परिणाम सार्वजनिक 
ध्रुव अधिकारी

वीरगंज  । पर्सामा आजबाट गाउँपालिका तथा नगरपालिकाको निर्वाचन परिणाम आउने क्रम सुरु भएको छ । 

आज मात्रै पर्साको ५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

नेकपा एमालेका उम्मेदवार लाल बहादुर श्रेष्ठले ४ हजार ४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी पिएल श्रेष्ठले ३ हजार ३ सय २९ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उपाध्यक्षमा गोकुली कुमारी रेग्मीले ४ हजार २ सय ५९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका निरु तामाङले ३ हजार ४३ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । 

राष्ट्रिय जनता पार्टी जसपाबाट निर्वाचन लडेका वशिष्ठ कुमार आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गर्नुभएको हो । 
वशिष्ठ कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याउनुभएको थियो । उपाध्यक्षमा भने नेपाली कांग्रसकी राजमति बरैनी निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार ९६१ मत ल्याउनुभएको छ । जनता समाजवादी पार्टी ९जसपा०की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो हुनुभएको छ । 

पर्साको जिराभवानी गाउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका अनोज चौधरी विजयी हुनुभएको छ । 

नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान गाउँपालिकाका अध्यक्ष रामप्रित महतोलाई १ हजार २ सय ६१ मतको अन्तरले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो ।

चौधरीले ४ हजार ५ सय ६० मत प्राप्त गर्नुभएको छ भने महतोले ३ हजार २ सय ९९ मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्षमा पनि नेपाली काँग्रेसकी रेखा चौधरीले नेकपा एमालेकी निवर्तमान उपाध्यक्ष उषादेबी थरुनीलाई १हजार ७ सय ४५ मतले पछि पार्दै विजयी हुनुभएको छ । 

यसैगरी, पर्साको धोबिनी गाउँपालिकामा जसपाका मदन प्रसाद चौहान ३ हजार ९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वशिष्ठ नारायण कुर्मीलाई २० मतले पछि पार्दै चौहान विजयी हुनुभएको हो । कुर्मीले ३ हजार ७१ मत प्राप्त गर्नुभएको छ । 

यता गाउपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकी मञ्जु देवीले ३ हजार १ सय ४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाकी प्रियङ्का देवीले २ हजार ५ सय ७७ मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी पर्सागढी नगरपालिकामा पनि नगर प्रमुख तथा उपप्रमुखमा एमालेकै उम्मेदवारहरूको विजय निश्चित भएको छ । एमालेका मेयर पदका उम्मेदवार गोकर्ण पाठक र उपमेयर पदका उम्मेदवार पूजा चौधरीको जित निश्चित भएको छ । 

दुवै जना २५ सयभन्दा बढी मत अन्तरले अग्रता लिएको अवस्थामा पर्सागढीमा ७ सय मत मात्रै गन्न बाँकी रहेको छ । 

यता विन्दवासिनी गाउँपालिकामा लोसपाका उम्मेदवार प्रमोद तिवारी विजयी हुनुभएको छ । यसको आधिकारिक पुष्टि भने हुन बाँकी रहेको छ ।

पर्सामा आज ५ पालिकाको मतगणना सम्पन्न भएको र बाँकी ९ पालिकाको गणना जारी रहेको र आज अधिकांश पालिकाको नतिजा सार्वजनिक हुने पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button