तपाईँ सुन्दै हुनुहुन्छः

कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

झापा। झापाको कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका आशा शिवाकोटी निर्वाचित हुनुभएको छ । पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी हुनुभएको थियो ।

पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले छ हजार ६६१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका शेरबहादुर थापाले पाँच हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुख शिवाकोटीले १० हजार ७१३ मत प्राप्त गरी विजय बन्नुभएको छ । उहाँकी निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की मञ्जु प्रसाईँले आठ हजार ८७५ मत प्राप्त गर्नुभएको छ । उहाँले प्रसाईँलाई एक हजार ८३८ मत बढी ल्याएर पराजित गर्नुभएको हो । मञ्जु यसअघि नगरउपप्रमुख हुनुहुन्थ्यो ।

हल्दिबारी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षमै राप्रपा विजय

हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजेन्द्र लिङ्देन पुनः निर्वाचित हुनुभएको छ । उहाँले एमालेका डम्बर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्र्र्दै विजयी बन्नुभएको हो ।

उहाँले कूल मतको छ हजार ८५६ मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याउनुभएको छ । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ ।

त्यस्तै अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

पालिकाको उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली नै निर्वाचित हुनुभएको छ । मैनालीले पाँच हजार ७८ मत ल्याउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत ल्याउनुभएको छ । माओवादी केन्द्रका टीकादेवी राउतले एक हजार ४५३ र कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत ल्याउनुभएको छ । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडाध्यक्ष र ११ सदस्य जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button