तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाका छ पालिकामा माओवादी दुईमा काँग्रेस विजयी

रोल्पा । रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ, भने गङ्गादेव र रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादीका सुरेन्द्र थापा घर्तीले ७६०३ मत प्राप्त गरी विजयी हुनुभएको हो  ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा माओवादीका गीता आचार्यले सात हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुष्पा श्रेष्ठले तीन हजार ७१९ मत प्राप्त गर्नुभएको छ ।

दस वटा वडा रहेको रोल्पा नगरपालिकामा माओवादीले नौ वटा वडामा जितेको छ । नगरपालिकाको एउटा वडा भने नेपाली काँग्रेसले जितेको छ ।

थवाङ गाउँपालिका माओवादी  विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दर्जित रोका मगरलाई ६१६ मतान्तरले पछि पार्दै माओवादीका ऋषिकेशव बुढामगर निर्वाचित हुनुभएको हो । बुढाले दुई हजार १२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत आएको थियो । 

उपाध्यक्षमा माओवादीका शर्मिला बुढामगर दुई हजार १२२ मत ल्याई विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गर्नुभएको थियो । थवाङमा नेकपा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।

त्यसैगरी परिवर्तन गाउँपालिकामा माओवादीका शुकबहादुर बुढामगर तीन हजार ३११ मत प्राप्त गरी विजयी हुनुभएको छ  । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा माओवादीका कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गर्नुभयो । सो गाउँपालिकामा कांग्रेस–एमाले–एकीकृत समाजवादी–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।

रुन्टीगढी गाउँपालिकामा काँग्रेसका जनक पुनले ४३९१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३७०८ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा नेपाली काँग्रेसका सरिता केसी निर्वाचित हुनुभएको छ । 

उहाँले चार हजार ४३७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कौशिला घर्ती क्षेत्रीले ३७०८ मत प्राप्त गर्नुभएको थियो । माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी विजयी हुनुभएको छ  । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय घर्ती मगरले तीन हजार ३७१ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा माओवादीका जयपुरी घर्तीमगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी हुनुभएको  छ । 

उपाध्यक्षमा नेपाली काँग्रेसका कृष्ण विकले तीन हजार ५० मत ल्याउनु भएको छ । जिल्लामा १ नगरपालिकासहित ९ गाउँपालिका रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button