२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

रेडियो नेपाल २०७९ जेठ ३ गते ६:५०

सिन्धुली। घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका बीचमा स्थानीय तह निर्वाचनमा गठबन्धन भएको थियो । सोही गठबन्धनबाट कांग्रेसका जगतबहादुर भोलन पुनः अध्यक्षमा र माओवादीका शङ्करमान घलान उपाध्यक्षमा विजयी हुनुभएको हो ।

नवनिर्वाचित भोलनले दुई हजार १०२ र उपाध्यक्ष घलानले दुई हजार ९८३ मतले विजयी हुनुभएको हो । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का चतरमान लोले एक हजार ३५३ र उपाध्यक्ष पदका उम्मेदवार प्रमिला वाइबाले एक हजार ५२८ मत प्राप्त गर्नुभएको छ ।

उक्त गाउँपालिकामा पाँचवटा वडा मध्ये चार वडामा माओवादी र एक वडामा एमाले विजयी भएको छ । माओवादीबाट क्रमशः वडा नं १ मा सोमबहादुर भोलन, वडा नं २ मा रोशनकुमार भोलन, वडा नं ४ मा अमृतकुमार वाइबा र वडा नं ५ मा ज्ञानबहादुर सिंजालीको प्यानल नै विजयी भएको छ । वडा नं ३ मा एमालेका निश्चल सुनुवारको प्यानल विजयी भएको छ ।

घ्याङलेख गाउँपालिकामा नौ हजार ९७५ मतदाता रहेकामा छ हजार ५२५ मत खसेको थियो । तीन हजार ३९३ पुरुष र तीन हजार १३२ महिलाले वैशाख ३० गते भएको निर्वाचनमा मतदान गरेका थिए । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो ।

सम्बन्धित