तपाईँ सुन्दै हुनुहुन्छः

‘भारतीय प्रधानमन्त्रीको भ्रमण लुम्बिनीको ऐतिहासिक महत्त्वलाई विश्वभरि फैलाउन सहयोगी’

काठमाडौँ । २५ सय ६६ औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नुभएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री मोदीको बुद्ध जन्मस्थल भ्रमणबाट लुम्बिनीको ऐतिहासिक महत्त्वलाई विश्वभरि फैलाउन सहयोग पुगेको बताउनुभयो ।

भारतका प्रधानमन्त्री मोदीको भ्रमणले ऐतिहासिक महत्त्व राख्ने भन्नुहुँदै प्रधानमन्त्री देउवाले दुई देशबिचको सामाजिक, धार्मिक, सांस्कृतिक र परम्परागत सम्बन्धलाई थप प्रगाढ र बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले नेपाल र भारतबिच बुद्धिस्ट सर्किट बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै यसले लुम्बिनीबाट बोधगया, कुशिनगर र सारनाथलाई एक आपसमा जोडी विश्वभरका बौद्ध मार्गीलाई बुद्धको जीवनसँग झन् नजिक बढाउने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मुक्तिनाथ, पशुपतिनाथ लगायतका नेपालका तीर्थस्थल र सांस्कृतिक सम्पदाहरूको उल्लेखनीय सङ्ख्यामा दर्शन गरेर भारतीय जनताले तिनको महत्त्व बढाएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भूकम्प, कोरोना महामारी लगायतका संकट तथा नेपालको विकासका लागि भारतले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।

लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै भारतका प्रधानमन्त्री मोदीले भगवान् गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्ने अवसर प्राप्त हुनु आफ्ना लागि अविस्मरणीय भएको बताउनुभयो ।

प्रधानमन्त्री मोदीले नेपालमा आउँदा आफूलाई राजनीतिक भ्रमण भन्दा पनि छुट्टै आध्यात्मिक अनुभूति हुने बताउनुभयो ।

प्रधानमन्त्री मोदीले नेपाल र भारतबिच साझा आस्था, विश्वास र प्रेम भएकाले दुवै देश मिलेर संसारभर भगवान् बुद्धको सन्देश पुर्‍याई विश्वलाई शान्तिको दिशा दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री मोदीले हजारौँ वर्षदेखिको नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाई जोगाउन नेपाल भारतले एक आपसमा काँधमा काँध मिलाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुद्ध सबैको र सबैका लागि भएको भन्नुहुँदै प्रधानमन्त्री मोदीले बुद्ध मानवताको बोध, सोध, विचार, संस्कार, उपदेश तथा मानवताको ज्ञानको अनुभूति भएको बताउनुभयो ।

लुम्बिनीमा आफूले पठाएको बोधी वृक्ष भिक्षित भएकोमा खुसी लागेको भन्नुहुँदै प्रधानमन्त्री मोदीले आजै दुवै देशका प्रधानमन्त्रीले इन्डिया बुद्धिस्ट कल्चर र हेरिटेजको पनि शिलान्यास गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणले बुद्धको सन्देशलाई विश्वभर पुर्‍याउन सहयोग पुग्ने बताउनुभयो ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहनुभएका मन्त्री आलेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै भारत लगायत विभिन्न देशका धार्मिक पर्यटकका लागि सहज हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button