तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जाको भीरकोट र गल्याङ नगरपालिकामा काँग्रेसको जित

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराई र उपप्रमुखमा हेमा न्यौपानेले जित्नुभएको छ ।

सोमबार सम्पन्न मतगणनाका अनुसार नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराईले ९ हजार ६२१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । भट्टराईका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैह्रेले ८ हजार ९२२ मत ल्याउनुभएको छ ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकै हेमा न्यौपाने विजयी हुनुभएको छ । न्यौपानेले ९ हजार ११ मत सहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी देवी थापाले ९ हजार ५५ मत ल्याउनुभएको छ । गल्याङ नगरपालिकामा २९ हजार ५५७ जना मतदाता रहेकोमा १९ हजार ८८० जनाले मतदान गरेका थिए ।

यसैबिच भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्माचार्य विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका विश्वनाथ अर्याललाई पराजित गर्दै विजयी हुनुभएको हो । कर्माचार्यले ६ हजार ५०४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल विजयी हुनुभएको छ । अर्यालले ७ हजार १७९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button