तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सुरुवात हुनु ऐतिहासिक दिन : प्रधानमन्त्री देउवा

भैरहवा । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि व्यवसायीक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

कुवेतको जजिरा एयर लायन्सको जहाज आज पहिलो पटक नेपाली यात्रु र राजदूतसहित सिधै नेपालको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भयो ।

कुवेतको जजिरा थ्री ट्वान्टी एयरलाइन्स बिहान ७ बजे भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण भएको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज भैरहवामा उद्घाटन गर्नुहुँदै सो विमानस्थल मुलुकको समग्र विकासका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मुलुकको धार्मिक एवं सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौँ पछिको मुलुकको ठूलो विमानस्थलले त्यस क्षेत्रको मात्र नभई मुलुकको विकासका लागि महत्त्वपूर्ण भूमिका पुर्‍याउने बताउनुभयो ।

गृहमन्त्री खाँणले विमानस्थल छिटो सम्पन्न गर्न निरन्तर आवाज उठाउने पर्यटन व्यवसायी, उद्योगी व्यवसायी र निर्माण कार्यमा सहयोग पुर्‍याउने एसियाली विकास बैङ्क लगायतलाई धन्यवाद दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतमबुद्धको नामको अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनले लुम्बिनीको पूण्य बुद्ध भूमिबाट विश्वभर शान्तिको सन्देश प्रवाह हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button