तपाईँ सुन्दै हुनुहुन्छः

मोदीको लुम्बिनी भ्रमण आज

लुम्बिनी । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सोमबार लुम्बिनीको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भारतका प्रधानमन्त्री मोदीको भ्रमणका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको जानकारी दिनुभयो । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)का अनुसार पनि सबै तयारी सकिएको छ ।

लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीका संयुक्त कार्यक्रम र भेटवार्ता तय भएका छन् । आफ्ना भारतीय समकक्षीको स्वागत गर्न प्रधानमन्त्री देउवा आइतबार नै लुम्बिनी आइपुग्नुभएको छ । दुलहीझैँ सिङ्गारिएको लुम्बिनीको तयारी अवलोकन गर्नुहुँदै उहाँले थप सुधारका लागि आफैँले पहल गर्नुभएको छ । २५६६औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसर पारेर भारतका प्रधानमन्त्री मोदी नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भ्रमणलाई भव्य बनाउन सबै मन्त्रालय र निकायलाई सक्रिय तुल्याइएको बताउनुभयो । प्र्रधानमन्त्री देउवा आफैँ आफ्ना समकक्षीको स्वागतमा जानुहुने कार्यसूची तय भएको छ । प्रधानमन्त्री देउवा आइतबार दिउँसो लुम्बिनी आएर भ्रमण तयारीको जानकारी लिनुहुँदै थप तयारीका लागि परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलाई निर्देशनसमेत दिनुभएको छ ।
उहाँका अनुसार दुई देशबीच केही राष्ट्रिय महìवका विषयमा सहमति र समझदारीको तयारी भएको छ तर यी विषय दुई देशका प्रधानमन्त्रीबीचको द्विपक्षीय भेटवार्तापछि मात्र अन्तिम टुङ्गोमा पुग्नेछ । नेपालका तर्फबाट हुनुपर्ने तयारी भने भएको छ, त्यसका लागि नेपालको सरोकारवाला मन्त्रालय र क्षेत्रका उच्चाधिकारी पनि तयारी अवस्थामा लुम्बिनी आउनुभएको जानकारी उहाँले दिनुभयो ।

प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाड, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलगायत आउनुभएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार भारतका प्रधानमन्त्री मोदीले सोमबार करिब ६ घण्टा लुम्बिनीमा बिताउनुहुनेछ ।

नेपाल सरकारको संयोजनमा लुम्बिनी विकास कोषले सम्पूर्ण कार्यक्रमको आयोजना गरेको छ । जसमा परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखा प्रमुख दुर्गाप्रसाद सुवेदीले दिनुभएको जानकारीअनुसार लुम्बिनीस्थित पाँच हजार दर्शकको क्षमता भएको बौद्ध सम्मेलन केन्द्रको सभाहलमा दुई देशका प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button