तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीमा मतगणना सुरु

गलेश्वर । म्याग्दीको धौलागिरि गाउँपालिकाबाहेक अरू सबै स्थानीय तहमा आज बिहानैदेखि मतगणना सुरु भएको छ ।

जिल्लाको एउटै मात्र नगरपालिका बेनी नगरपालिकामा बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको हो । 

प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले बेनी नगरपालिका–१ रत्नेचौरको मतपेटिकाको मत खन्याइ गणनाको सुरुआत गर्नुभएको हो ।

यसैगरी, जिल्लाका मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पनि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख भीमप्रसाद घिमिरेका अनुसार भौगोलिक विकटताका कारण धौलागिरि गाउँपालिकाको गुर्जाबाट मतपत्र पालिकाको केन्द्र मुनामा आई नपुगेकाले त्यहाँको मतगणना सुरु हुन सकेको छैन ।

कार्यालयका अनुसार शुक्रवार सम्पन्न मतदानमा जिल्लाभर ६६ प्रतिशत मत खसेको थियो । बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकामा कूल मतदाता मध्ये ५६ हजार ५४३ मत खसेकामा महिला ३० हजार ३२, पुरुष २६ हजार ५१० र अन्य एक जना रहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा जम्मा ७४ वटा मतदान स्थल र १ सय१४ वटा मतदान केन्द्र रहेकामा स्थानीय तह निर्वाचनका लागि कूल ८५ हजार ३ सय ७५ मतदाता थिए । एक नगरपालिका, पाँच वटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका तह चुनावको विभिन्न पदसहित कूल २ सय ३७ पदको लागि ७ सय १८ जना उम्मेदवार चुनावमा उठेका छन् । 

जिल्ला निर्वाचन अधिकारी घिमिरेका अनुसार भौगोलिक रुपमा विकट क्षेत्र धौलागिरि गाउँपालिका–१ गुर्जाको मतपेटिका आज बिहान ५ बजे गाउँबाट ल्याइने छ । 

जिल्लामा अनुमान गरेभन्दा धेरै मत खसेको उहाँले बताउनुभयो । “अनुमान गरेभन्दा पाँच–सात प्रतिशत बढी मत खसेको छ”, प्रमुख घिमिरेले भन्नुभयो । 

यसैबीच, बेनी नगरपालिकाको मतपेटिका सङ्कलन गरेपछि आज बिहान ८ बजेदेखि  मात्रै मतगणना हुने जनाइएको छ । 

त्यस्तै, जिल्लाका पाँच वटै गाउँपालिकाको मतदान केन्द्रबाट मतपेटिका गाउँपालिकाको केन्द्रमा लैजाने क्रम रहेको छ । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button