तपाईँ सुन्दै हुनुहुन्छः

चितवनका पाँच पालिकामा मतगणना जारी, तीन पालिकामा एमालेको अग्रता

चितवन । स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनमा ७३.२६ प्रतिशत मत खसेको छ । जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । निर्वाचन कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै कालिका नगरपालिकामा ७८.१५ प्रतिशत मत खसेको छ ।
सबैभन्दा थोरै भरतपुर महानगरपालिकामा ६७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकामा ७४.८६ प्रतिशत, खैरहनी नगरपालिकामा ७४.२५ प्रतिशत, राप्ती नगरपालिकामा ७३ प्रतिशत, माडी नगरपालिकामा ७२.३७ प्रतिशत र इच्छाकामना गाउँपालिकामा ७६.८० प्रतिशत मत खसेको कार्कीले जानकारी दिए ।
भरतपुरमा एक लाख ८५ हजार ७५२, रत्ननगरमा ५२ हजार ६४२, राप्तीमा ४० हजार ६४९, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, माडीमा २८ हजार ३२० र इच्छाकामनामा १५ हजार ६३४ मतदाता छन् ।

तीन पालिकामा एमालेको अग्रता
भरतपुर र रत्ननगरबाहेक सबै पालिकामा अहिले मतगणना जारी छ । भरतपुर र रत्ननगरमा मतगणनाको तयारी हुँदै छ । राप्ती, माडी र इच्छाकामनामा एमालेले अग्रता लिएको छ । खैरहनी र कालिकामा कांग्रेसले अग्रता लिएको छ ।

राप्ती–६ मा ८०० मत गन्दा मेयरका उमेदवार एमालेका गोविन्द्र प्रसाद कँडेलले ४४२ र गठबन्धनतर्फबाट नेकपा एकिकृत समाजवादीका शमशेर लामाले ३१६ मत ल्याएका छन् । उपमेयरका उमेदवार एमालेकी मेनुका पाठकले ४७२ र कांग्रेसका देवेन्द्र लामाले २९३ मत ल्याएका छन् ।

कालिका–१ मा ३०० मत गन्दा मेयरमा एमालेका विनोद रेग्मीले ११९ र कांग्रेसका शिवराम केसीले १२१ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी बिमला लामाले ११९ र माओवादीकी सविता लामाले ११४ मत ल्याएका छन् । खैरहनी–२ मा ४०० मत गन्दा मेयरका उमेदवार कांग्रेसका शशी खनियाले २७१ र एमालेका लालमणी चौधरीले ८७ मत ल्याएका छन् ।

इच्छाकामना–१ मा ६०० मत गन्दा अध्यक्षमा एमालेका दान बहादुर गुरुङले २८४ र कांग्रेसकी गीता गुरुङले २६० मत ल्याएकी छन् । उपाध्यक्षमा एमालेकी माया सिलवालले २९२ मत र माओवादीका प्रताप गुरुङले २६५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button