तपाईँ सुन्दै हुनुहुन्छः

सुनसान बने काठमाडौँ उपत्यकाका सडक

काठमाडौँ ।  शुक्रवार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरू मतदानको तीव्र प्रतीक्षामा छन् ।  

स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदुपयोग गर्न मतदाता आफ्नो नामावली भएको स्थानमा केन्द्रीकृत भएका छन् । काठमाडौँ उपत्यकालगायत मुलुकका मुख्य सहरबाट मतदाताहरू आफ्नो स्थानमा केन्द्रित भइरहेका छन् । काम विशेषले गाउँ छाडेका धेरै मतदाता गाउँ फर्किसकेका छन्,भने यसअघि जान नपाएका मतदाताहरूको फर्किने लर्को आज पनि उपत्यकाका नाकाहरूमा सजिलै देखिएको छ । 

बुधवार मात्रै ८३ हजार नागरिकले काठमाडौँबाट उपत्यका छाडिसकेका प्रहरीले जनाएको छ । यही २१ देखि २८ गतेसम्म ५ लाख ५० हजार बढी यात्रुले उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भित्रिनेको तुलनामा बाहिरिनेको सङ्ख्या झन् धेरै छ । यो क्रम नेपालका धेरैजसो ठुला सहरमा देखिन्छ । यसपालिको निर्वाचनमा मतदातामा छुट्टै उत्साह देखिएको छ भने मुलुक नै निर्वाचनमय बन्न पुगेको छ । मुलुकभर एकै पटक निर्वाचन हुन लागेकाले पनि वातावरण थप उत्साहित छ ।

पछिल्लो समयमा अधिकांश मतदाता राजनीतिक दलले व्यवस्था गरेको यातायातका साधनबाट गाउँ फर्किएका छन् भने कतिपय भाडाका सवारीसाधन र निजी गाडीमा समेत गइरहेका देखिएका छन् । मत हाल्ने दिन सरकारले सार्वजनिक बिदा दिएको, अर्को दिन शनिबार परेको र जेठदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयअनुसार आइतबार र सोमबारसमेत बिदा परेकाले पनि नागरिकहरू केही दिनको छुट्टी लिएरै गाउँ फर्किएका छन् ।

आज राति १२ बजेदेखि सवारीसाधन सञ्चालन गर्न नपाउने भएकाले पनि यसअघि जान नपाएका मतदाता आज साँझसम्म फर्किने तरखरमा रहेका छन् । यसपालि निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । आजसम्म १८ वर्ष पूरा भएका नागरिकले मतदान गर्न पाउने छन् ।

मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अति संवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदान स्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ । 

मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी मौन अवधि सुरु भइसकेको छ भने अन्तर्राष्ट्रिय सीमा नाकासमेत बन्द गरिएको छ । मुलुकभर प्रचारप्रसारसहित मतदाता प्रभावित पार्ने गतिविधिमा रोक लगाइए पनि सार्वजनिक समाचारमा उल्लेख भएअनुसार आचारसंहिता विपरीतका गतिविधि छिटफुट रुपमा भइरहेको छ । 

आसन्न निर्वाचनका कारण काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै भएको छ । उपत्यका भित्रिने सवारी प्राय छैन भने बाहिरिने सवारी साधनको चाप अझै देखिएको छ । मतदाताहरू काठमाडौँको कलङ्की, बालाजु, कोटेश्वर, बल्खु, गौशालालगायत विभिन्न नाकाबाट गाउँ फर्किने क्रम जारी रहेको छ । आज मात्रै सवारी चल्ने भएकाले पनि यसअघि जान नपाएका यात्रु आज राति अबेरसम्म भए पनि गाउँ फर्किने तयारीमा छन् । उपत्यकाभित्र पनि न्यून मात्रामा सवारीसाधन सञ्चालन छ । अघिपछि जाम हुने थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, गौशाला, कलङ्कीलगायतका चोक प्रायः खुला जस्तै रहको छ । 

यातायातका साधन कुनै पनि चोकको जाममा पर्नुपर्ने अवस्था नरहेको सवारी चालकहरूले बताएका छन् । सडकमा ट्राफिक प्रहरी न्यून मात्रामा परिचालन भएका छन् । विभिन्न क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई समेत निर्वाचनमा परिचालन गरिएकाले सडकमा सुरक्षाकर्मीको उपस्थिति कम छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी आज बिहान नाकाबाट बाहिर जाने यात्रुको सङ्ख्या बढी देखिए पनि क्रमशः न्यूनीकरण हुँदै गएका र घर फर्किने क्रम भने रातिसम्मै चल्ने देखिएको बताउनुभयो । उहाँका अनुसार हिजो अस्तिको तुलनामा उपत्यकामा सवारीका चाप न्यून रहेको छ । 

कार्यालयले दिएको विवरण अनुसार बिहीबार नौ हजार ९५६ सवारी साधनमार्फत ५९ हजार ८१ यात्रु उपत्यका छाडेर गएका छन् । त्यसको अर्को दिन बुधवार बाहिरिने यात्रु ह्वात्तै बढेर ८३ हजार ६६० पुगेका छन् । उनीहरू ११ हजार २३३ गाडीमार्फत बाहिरिएका हुन् । यो तथ्याङ्क निजी सवारी र रिजर्भका सवारीसाधनबाट गएकाको गणना गरिएको छैन । 

त्यसरी जाने यात्रुको सङ्ख्या पनि ठूलो रहेको छ । आज पनि ठूलो मात्रामा मानिस बाहिरिएका प्रहरीले जनाएको छ । 

दुई लाख ६० हजार बढी सुरक्षाकर्मीले निर्वाचनको सुरक्षा

यस पटकको निर्वाचनमा दुई लाख ६० हजार सुरक्षा जनशक्तिले निर्वाचनको सुरक्षा दिँदै छन् । त्यसमा एक लाख म्यादी प्रहरी छन् । नेपाल प्रहरीका ६५ हजार बढी परिचालित छन् भने नेपाली सेनाबाट ७१ हजार सहभागी छन् । त्यस्तै सशस्त्र प्रहरीका ३२ हजार बढी परिचालित भएका छन् । 

मतदान स्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका गृह मन्त्रालयले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल जुनसुकै मतदान स्थलमा बढीमा ३० मिनेटभित्रमा पुग्ने गरी सेनाले सुरक्षा रणनीति बनाएको जानकारी दिनुभएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी यसपालि आपराधिक समूहको सक्रियता शून्य रहेकाले निर्वाचन सुरक्षा चुनौती कम रहेको तर दल र तिनका प्रतिनिधिबीच हुनसक्ने सम्भावित घटनाप्रति प्रहरी सचेत रहेको बताउनुभयो । 

उहाँले यसपालिको निर्वाचनको माहौल शान्तिपूर्ण नै रहेको बताउनुभयो । उहाँका अनुसार विभिन्न जिल्लामा छिटफुट घटना भएको छ । 

प्रहरीले मतदान केन्द्रमा १८ जनासम्म प्रहरी परिचालन गरिएको बताउनुभयो । नेपालका चार सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना) ले निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गरी लागू गरेका छन् । चारै निकायले आ–आफ्नै छुट्टाछुट्टै सुरक्षा रणनीति समेत बनाएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button