२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय परिचयपत्र छपाइ सुरु

रेडियो नेपाल २०७९ वैशाख २६ गते १७:०५

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्‍जिकरण विभागले राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृह सचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबिच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गर्नुभयो ।

विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एन्ड आइडेन्टीटी कम्पनीबाट परिचय पत्रको कार्ड ल्याएपछि सोमबारबाट छपाइ प्रक्रिया सुरु गरेको महानिर्देशक तीर्थप्रसाद भट्टराईले जानकारी दिनुभयो । अहिले ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी ८ लाख आउने क्रममा रहेको विभागले जनाएको छ । यो वर्ष भरिमा ५० लाख आपूर्ति गर्ने लक्ष्य विभागले लिएको छ ।

मेसिनले घण्टामा ११ कार्ड छाप्ने भएकाले परिचय पत्र फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिटै कार्ड पाउने विभागले जनाएको छ । विभागले अहिलेसम्म परिचय पत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ । अभियानमार्फत ५६ लाख ५३ हजार २०९ र इकाईमार्फत ११ लाख २६ हजार ४३३ आवेदन लिइएको विभागले जनाएको छ ।

विभागले इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलान्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्चनपुर डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचय पत्रको अभियान सम्पन्न गरिसकेको छ । त्यस्तै ३३४ स्थानीय तह र तीन हजार ४५ वडामा अभियान सम्पन्न गरिएको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।

अहिले सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको छ ।

राष्ट्रिय परिचयपत्रको Service Integration मा राहदानी विभागसँग System Integration भई राष्ट्रिय परिचयपत्रमार्फत  e-Passport लागु भइसकेको छ । CMIS System Integration भई कार्यान्वयनमा रहेको र VERSP-MIS सँग System Integration भई कार्यान्वयनमा रहेको, सञ्चय कोष र आन्तरिक राजश्वको प्रणालीसँग आबद्धताको चरणमा रहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।

सम्बन्धित