तपाईँ सुन्दै हुनुहुन्छः

एकल पुरुषलाई मासिक भत्ता

पर्वत । पर्वतको फलेवास नगरपालिकाले एकल पुरुष अर्थात् विधुरलाई मासिक भत्ता उपलब्ध गराउन सुरु गरेको छ । शुक्रवारदेखि लागु हुने गरी यो कार्यक्रमको थालनी गरिएको हो ।

एकल अवस्थामा रहँदा महिला मात्रै नभई पुरुष पनि समस्यामा पर्ने भएका कारण भत्ता दिन सुरु गरिएको नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले बताउनुभयो । यो कार्यक्रम चालू आर्थिक वर्षको माघ महिनाबाट सुरु गरिएको गौडेलको भनाई छ ।

११ वटा वडा रहेको नगरपालिकाका सबै वडाबाट विवरण सङ्कलनको काम पूरा भएको र यदि कतै छुटेका भए ती बाहेक ८४ जना एकल पुरुष रहेको र उनीहरूलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता दिइने नगरपालिकाले जनाएको छ ।

प्रवक्ता गौडेलका अनुसार नगरपालिकाका भित्रका ११ वटै वडाबाट विवरण सङ्कलन गर्दा ८४ जना एकल अर्थात् विधुर पुरुष रहेको तथ्याङ्क आएको भनाई छ । कहीँ कतै विवरण सङ्कलनमा छुटेको भएमा पुन समेट्न सकिने उहाँको भनाई छ ।

समग्रमा ७० वर्ष उमेर पुग्ने बेलासम्म भनिए पनि दलित पुरुषले ५९ र अन्य जातका पुरुषले ६९ वर्षसम्म यो भत्ता पाउने नगरपालिकाले जनाएको छ ।

समयावधि पुगेका अर्थात् नेपाल सरकारले तोकेको मापदण्डमा पुगेका पुरुषहरू बाहेक अन्य यो कार्यक्रममा समेटिने भएका हुन् । यही कारण माथिबाट आउने भत्ता नपाउने अवस्था सम्मका लागि ५० वर्ष उमेर पूरा गरेका पुरुषलाई ‘विधुर भत्ता’ दिन थालिएको नगर प्रमुख पदमपाणि शर्माले बताउनुभयो ।

शर्माले श्रीमतीको मृत्यु भएपछि समस्यामा रहेका र कुनै पनि आर्थिक अवस्थामा रहेर समस्यामा परेका पुरुषको लागि केही हदसम्म भए पनि सहायता हुन्छ भन्ने उद्देश्यका साथ भत्ता कार्यक्रमको थालनी गरिएको बताउनुभयो ।

चालू आर्थिक वर्षमा नै यो कार्यक्रम गर्नका लागि योजना पारित भएपछि शुक्रवारदेखि त्यस्ता पुरुषलाई भत्ता वितरणको काम थालिएको नगर प्रमुखको भनाइ छ ।

नगरपालिकाले यसअघि मध्यम र पिछडिएका वर्गलक्षित विभिन्न लोकप्रिय कार्यक्रम सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button